पक्राउ पर्दैनन् तस्कर, सधैं बेवारिसे सामान मात्र बरामद

जनपत्र
११ श्रावण २०७७, आईतवार ०६:०६

गत बुधवार राति नेपालबाट भारततर्फ लैजाँदै गरेको रू. २१ लाख मूल्य बराबरको मदिरासहित चारओटा ट्र्याक्टर धनुषा प्रहरीले नियन्त्रणमा लिए । धनुषाको कमला नगरपालिका–४ सघाराचोकबाट चारओटा ट्र्याक्टरमा राखिएको १ हजार मदिराको कार्टुन प्रहरीले नियन्त्रणमा लिन सफल भए पनि तस्करलाई भने पक्राउ गर्न असफल नै रह्यो ।

ज १ त ७८६९, ज १ त ९१०३, ज २ त ९३२ र ज १ त ४१६१ नम्बर प्लेटको ट्र्याक्टरमा रू. २० लाख ८७ हजार बराबरको बेवारिसे सामानसहित चारओटै ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

यस्तै, गएको असार २४ गते जनकनन्दनी गाउँपालिका–३ मा पनि प्रहरीले बेवारिसे सामान बरामद गरेको थियो । दशजनाको समूहले भन्सार छली गरी रू। १० लाख मूल्य बराबरको लत्ता कपडा ल्याएको प्रहरीको तथ्यांकमा उल्लेख छ । तर, तस्करहरू प्रहरीको गस्ती टोलीलाई देख्नासाथ सामान छाडेर भागेको प्रहरीले बताएको छ । प्रहरीले कोट पाइन्टको कपडा, गम्छा, ब्लाउजको कपडा, धोती, कुर्ता सुरुवाल, साडी लगायत करीब रू. ५ लाख ३९ हजार बराबरको कपडा विधिपूर्वक भन्सारमा बुझाएको जानकारी दिएको छ ।

सोही मितिमा जनकपुर उपमहानगरपालिका–२ मा भन्सार छलीको बेवारिसे सामान प्रहरीले बरामद गरेको थियो । रू। २ लाख २५ हजार बराबरको कपडा मोटरसाइकलमा बोकेर आउँदै गरेको मानिस प्रहरीको टोली देख्नेबित्तिकै फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । यी घटनाहरू प्रतिनिधिमूलक मात्र हुन् । यस्तो घटना धनुषाका कुनै न कुनै सीमामा दैनिक भइरहेको जानकारहरूको भनाइ छ । भन्सार नाकाहरूमा तैनाथ सशस्त्र प्रहरीका एकाइ लेनदेनमा बढी आकृष्ट हुन थालेपछि अवैध ओसारपसार नियन्त्रण ऐन नै फितलो भएको बताइएको छ । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*