रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने
काठमाण्डाै – सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि भाेली पेशी तोकिएको छ ।
जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो ।
पूरक निवेदनमा सुनुवाइ हुने भएपछि यो मुद्दा पुनः विचाराधीन बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदन अब तीन जना न्यायाधीशबाट सुनुवाइ हुनेछ ।
पुनरावलोकनको अनुमति पाए यो मुद्दा सर्वोच्च अदालतको तीन वा त्यो भन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ । संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बनेको छ ।
यसैबीच, कोइरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको विरोधमा साझा पार्टीले काठमाण्डौमा प्रदर्शन गरेको छ । ‘न्यायका लागि साझा यात्रा’ नाम दिएर साझा पार्टीले ललितपुरको बखुण्डोलबाट सुरु गरेको प्रदर्शन माइतीघर मण्डलामा गएर कोणसभामा परिणत गरेकाे थियाे ।