‘देशमा न्याय छ भन्‍ने लागेको थियो’

जनपत्र
१० श्रावण २०७७, शनिबार ०७:४९

काठमाडौँ — बैठक कोठामा यताउता टहलिएको केहीबेरमा हरिप्रिया ढकाल भित्तामा टाँसिएका हँसिला दुई फोटोछेउ पुगिन्, एकछिन रोकिइन् र लामो सुस्केरा हाल्दै भनिन्, ‘न्याय बेचेर खाए !’ हरबार कोठामा चक्कर मार्दा उनी तिनै फोटोछेउ पुगेर टक्क रोकिन्छिन्, मनमा हुन्डरी चल्छ । अहिलेको हुन्डरी झन् वेगमा चलिरहेको उनकै उदासीले बताइरहेको छ ।

‘उसलाई फोटो खिच्न भनेपछि औधी मन लाग्थ्यो, जहाँ पुगे पनि फोटो खिचिहाल्थी,’ हरिप्रियाले उकुसमुकुस पोखिन्, ‘उसले छाडेपछि मैले फोटो खिच्न पनि छाडिदिएँ ।’ छोरीले नै छोडेर गएपछि हरिप्रिया बाहिरफेर घुम्न जान पनि छाडिन्, रङ रमाइलो र उत्सव उनका सम्झना मात्रै रहे, जसरी छोरी गीता ढकाल सम्झनाबाहिर रहन सकिनन् । ‘साथी थिई, उही नभएपछि केही भएन,’ उनले भनिन् ।

आमाहरूलाई हरसन्तानको माया बराबरी नै लाग्दो हो तर आमाको पहिलो अनुभूति हुने भएकाले होला, पहिलो सन्तानको माया विशेष हुन्छ भन्छन् । त्यसैले हरिप्रियालाई तीन सन्तानमा जेठी छोरी गीताकै मायाले छपक्कै भिजाउँथ्यो, भिज्न त उनका परेला अहिले पनि भिज्छन् तर याद र वियोगले । त्यसैले गीताको हत्या भएयता उनी बिस्तारै बिरामी पर्दै गइन्, स्मरणबाट धेरै चीज हराए, आँखाको ज्योति पनि हराउँदै गयो, छोरी गुमाउँदाको सन्तापले हरिप्रिया पनि बलियो रहिनन् । अझ पछिल्लोपटक छोरीको हत्या गर्ने रञ्जन कोइरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएपछि उनी झन्झन् बेचैन भएकी छन् । ‘लकडाउन भएका बेला सर्वोच्चले गरेको फैसला सुन्नेबित्तिकै यस्तो पनि हुन्छ भनेर म त छक्क परेँ,’ हरिप्रियाले भनिन्, ‘त्यसपछि के–के भयो भनिसाध्य छैन, बयान गरिसाध्य छैन ।’ हुन पनि अन्यायमा पर्दा निस्किएको ज्वालामुखीले मनभित्र कताकता राँको बाल्छ, के हिसाब हुन्छ र !

यो समाज यसै पनि छोरीहरूका निम्ति ‘भरपर्दो’ छैन, त्यसपछि न्यायालयबाटै यो किसिमको फैसला आउँदा धेरैले मुखामुख गरेका छन्, अचम्म मानेका छन् । हरयातनाको साक्षी बसेर न्यायको अनुभूति गरेको ढकाल परिवार पनि करिब साढे ८ वर्षपछि पुरानो घाउले पिरोलिएको छ । अमेरिकाबाट आएकी एउटी बुहारी र नातिसहित बूढानीलकण्ठस्थित घरमा बसिरहेका गीताका बुबा हरेराम र आमा हरिप्रियाका अधिकांश समय आफैंमाथि बज्रिएको अन्यायको घनले हिर्काएको चोट सुमसुम्याएरै बित्छ । आँखामा आँसु रित्तिइसकेको छ, न्यायदाताले दिएको अन्यायको घाउ झन्झन् बल्झिएको छ । तर सुक्खा आँखाहरूको पीडाको भाका झन् गहिरो हुँदो रहेछ । ‘हामीले हाम्री छोरी गुमायौं, अब हाम्रीजस्ता धेरै छोरी सुरक्षित छैनन्,’ हरेरामले कान्तिपुरसँग भने, ‘सुरक्षाकर्मीले गरेको हत्यालाई न्यायालयले सदर गरिदिएको छ ।’ हरिप्रिया पनि गुमेकी छोरीभन्दा पनि अब गुम्ने सम्भावना बोकेका छोरीहरूको पीरले हुरुक्कै हुन्छिन्, बोल्दाबोल्दै रोकिन्छिन् र उही छोरीसितैका सम्झनाका पोको फुकाउन थाल्छिन् । छोरी जन्मिएदेखि उनको हत्या भएसम्मका कुनै पल स्मरणबाट मेटिएकै छैनन् । ‘अलि अघिसम्म त नातिहरू पनि आउँथे, अहिले आउनै छाडे,’ उनले गीताका दुई सन्तान सम्झिइन्, ‘नातिहरू आएर चुपचाप बसेर जान्थे, कान्छोले आमाको फोटो छेउमा पुगेर आँसु बगाउँथ्यो, हामीले नदेख्ने गरी पुछ्थ्यो ।’ हरिप्रियाले यसो भन्दै गर्दा उनका आँखामा टल्किएका आँसु हामीले देख्यौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*