राजमार्ग छेउमा सञ्चालित क्रसर एक वर्षभित्र सार्नुपर्ने
काठमाडौं । धादिङमा पृथ्वी राजमार्ग होस् वा काभ्रेको बीपी राजमार्ग वा पूर्वपश्चिम राजमार्गको अधिकांश क्षेत्रमा राजमार्गसँगै जोडिएर सयौं क्रसर उद्योग संचालनमा छन् ।
देशभर नै ठूला राजमार्गकै छेउछाउमा क्रसर उद्योग खोल्नु सामान्य जस्तै बनेको छ । अब भने क्रसर उद्योग राजमार्गको राइट अफ वे बाट कम्तीमा ५ सय मिटर पर सार्नुपर्ने भएको छ । सरकारले ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ कार्यान्वयनमा ल्याई राजमार्गसँगै क्रसर उद्योग सञ्चालनमा रोक लगाएको हो ।
नयाँ खुल्ने उद्योगले अब राजमार्ग नजिक उद्योग स्थापनाको अनुमति पाउने छैनन् । अहिले संचालनमा रहेका उद्योगले एक वर्षभित्र राजमार्गको सीमानाबाट ५ सय मिटर पर सार्नुपर्ने भएको छ । यसरी सर्न नमान्ने उद्योगलाई प्रशासनले बन्द गराउन सक्नेछ ।
मन्त्रिपरिषद्ले ५ साउनमा यो मापदण्ड स्वीकृत गरेको हो । मापदण्ड कार्यान्वयनका लागि स्थानीय तहहरुमा पुगेको छ ।