मुलुकभर ९१.६८ प्रतिशत रोपाइँ सकियो
यस वर्ष साउन पहिलो हप्तासम्ममा ९१ दशमलव ६८ प्रतिशत धान रोपाइँ सकिएको छ, जुन गतवर्षको सोही अवधिको तुलनामा करीब २८ प्रतिशत धेरै हो । गतवर्ष यो अवधिमा ६३ दशमलव ७९ प्रतिशत रोपाइँ भएको थियो ।
यस वर्ष हालसम्म उच्च पहाडी क्षेत्रमा ८७ दशमलव ६५ प्रतिशत, मध्य पहाडी क्षेत्रमा ८५ दशमलव २३ प्रतिशत, तराई क्षेत्रमा ९४ दशमलव १७ प्रतिशत रोपाइँ सकिएको छ । अघिल्लो वर्ष यी ठाउँमा क्रमशः ७५ दशमलव शून्य १, ७२ दशमलव ८७ प्रतिशत र ६० दशमलव शून्य २ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म प्रदेश १ मा ८२ दशमलव ४१ प्रतिशत रोपाइँ सकिएको छ, जुन गतवर्षको सोही अवधिको तुलनामा २६ दशमलव २८ प्रतिशत धेरै हो । गतवर्ष यस अवधिमा प्रदेश १ मा ५६ दशमलव १३ प्रतिशत रोपाइँ सकिएको थियो । प्रदेश २ मा हालसम्म ९६ दशमलव ७७ प्रतिशत रोपाइँ सकिएको छ, जुन गतवर्षको तुलनामा ४६ दशमलव २९ प्रतिशत बढी हो । गतवर्ष यहाँ ५० दशमलव ४८ प्रतिशत रोपाइँ भएको थियो ।
यस वर्ष प्रदेश ३ मा हालसम्म ८२ दशमलव २२ प्रतिशत, गण्डकी प्रदेशमा ९१ दशमलव ११ प्रतिशत, प्रदेश ५ मा ९५ दशमलव १४ प्रतिशत, कर्णाली प्रदेशमा ९६ दशमलव २३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९५ दशमलव ४९ प्रतिशत रोपाइँ सकिएको छ । यी ठाउँमा गतवर्ष क्रमशः ६९ दशमलव १८, ७९ दशमलव २८, ६३ दशमलव ४८, ९० दशमलव १३ र ८६ दशमलव ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कुल १३ लाख ७१ हजार ७०६ हेक्टर जमीनमा वर्षे धानखेती हुने गरेको छ । यसमध्ये अहिलेसम्म १२ लाख ५७ हजार ६०७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीका अनुसार यसअघिका वर्षमा औसत रोपाइँ ९३–९४ प्रतिशतको हाराहारीमा धान रोपाइँ हुने गर्दथ्यो । ‘यस वर्ष बढेर ९८ प्रतिशतसम्म पुग्न सक्ने अनुमान छ,’ उनले भने । रोपाइँ अझै १०र१५ दिनसम्म हुने भएकाले रोपाइँको प्रतिशत बढ्ने उनले दाबी गरे ।
धान रोपाइँ हुने क्षेत्रफल समेत गतवर्षको भन्दा यस वर्ष तुलनात्मक रूपमा सबै प्रदेशमा बढेको तथ्यांकले देखाएको छ । समयमै मौसम शुरू भएर एकनासले पानी परिरहनु, लकडाउनका कारण धेरैजसो जनशक्ति गाउँघरमा नै हुनु, बाली लगाउनुअघि नै धानको समर्थन मूल्य तोकिनु जस्ता कारणले पनि यस वर्ष गतवर्षको तुलनामा रोपाइँ छिट्टै भएको र क्षेत्रफल समेत बढ्ने प्रवक्ता केसीको भनाइ छ । अभियानडेलीबाट