धोबीखोला किनारमा ७ करोडकाे २ वटा पार्क

जनपत्र
८ श्रावण २०७७, बिहीबार २०:४२

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा नम्बर ५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ । महानगरपालिकाले हाँडीगाउँकाे धोबी खोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बीचमा रहेको झण्डै ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६ रोपनी ११ आना क्षेत्रमा नरबुद्ध पार्क र आठ रोपनी क्षेत्रफलमा महानगर पार्क निर्माण कार्य अघि बढाएको हो ।

लागत अनुमान तीन करोड ३७ लाख ३८ हजार रुपैयाँ अनुमान गरिएको नरबुद्ध पार्क निर्माणकाे लागि काठमाण्डाै महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि एक करोड ५० लाख विनियोजन गरेको छ । याे पार्क प्रस्ताव आह्वानकाे चरणमा पुगेको वडा नम्बर ५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिनुभयो ।

विहार र बुद्धको मूर्तिसहितको पार्कमा पोखरी, फाउण्टेन र विश्रामस्थलसमेत रहने छ । याे पार्क अपाङ्गमैत्री र ज्येष्ठ नागरिकमैत्री रहेको वडाध्यक्ष डङ्गोलले जानकारी दिनुभयो ।

हरियालीलाई विशेष प्राथमिकता दिइएको पार्कमा वर्षाको पानी सङ्कलन गरी फेरि प्रयोग गर्न सकिने र वाटर रिचार्जको पनि व्यवस्था गरिएको छ । ‘नयाँ डिजाइनमा विहारको मोहोडा परिवर्तन गरी प्राचीन शैलीमा निर्माण गरिने छ’, डङ्गोलले भन्नुभयो, ‘राजधानीको कोलाहलबीचमा पनि हामीले सकेसम्म शान्ति दिन सकियोस् भनेर यो पार्कलाई नमुना बनाउने तयारी गरेका छौँ ।’

नरबुद्ध पार्कको आर्किटेक डिजाइन निर्मिता डंगोलले तयार पार्नुभएको हो ।

उहाँले महानगर पार्कको भने प्रारम्भिक डिजाइन तयार भएको जानकारी दिनुभयो । महानगर पार्कको पनि लागत अनुमान चार करोड बढी रहेको डङ्गोलको भनाइ छ । काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थितिमा पार्कको प्रारम्भिक डिजाइनबारे स्थानीयसँग छलफल सम्पन्न भएको छ ।

छलफलमा सहभागी प्रमुख शाक्यले काठमाण्डाै महानगरपालिकाले थालनी गरेका कुनै पनि योजना बजेट अभावले नरोकिने प्रष्ट पार्नुभयो । ‘हामीले नरबुद्ध पार्कका बारेमा धेरै चरणका छलफल सम्पन्न गरिसकेका छौँ । महानगरपार्कका बारेमा पनि स्थानीयसँग प्रारम्भिक चरणको छलफल भएको छ । तपाईँहरुका सुझावलाई समेत समेटेर निर्माण प्रक्रिया अघि बढाउँदा पार्कमा सबैको अपनत्व हुने हामीले अपेक्षा गरेका छौँ’, प्रमुख शाक्यले भन्नुभयो, ‘हामीले आर्थिक वर्ष २०७७/०७८ मा मात्रै सार्वजनिक जग्गा र खुला क्षेत्रको संरक्षण गर्दै हरियाली प्रवर्द्धनलाई ध्यानमा राखेर ३० बढी पार्क निर्माण गर्ने लक्ष्य लिएका छौँ । हरेक वडामा पार्क निर्माण गर्ने हाम्रो तयारी छ । वडा नम्बर ५ मा पनि यसरी पार्क निर्माणको काम अघि बढेकोमा खुसी लागेको छ ।’

प्रमुख शाक्यले कतियपय योजना विवादका कारण अघि बढ्न नसकेको गुनासो गर्दै बजेट अभावका कारण योजना अलपत्र पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लागत अनुसारको बजेट दिन महानगरपालिका तयार रहेको भन्दै बजेटका बारेमा चिन्ता नलिन पनि आग्रह गर्नुभयो ।

‘काठमाण्डाै महानगरपालिकामा हामी निर्वाचित भएर आएदेखि पैसाअनुसारको योजना होइन, योजना अनुसार पैसा विनियोजन गर्नुपर्छ भन्ने मान्यताअनुसार अघि बढेका छौँ’, उहाँले भन्नुभयो, ‘कुनै पनि योजना अधुरो नछोड्ने, कुनै पनि काम अपूरो नछोड्ने हाम्रो नीति नै छ । हामीले सुरु गरेका कुनै पनि काम अधुरो छाडेका छैनौँ । बजेट पर्याप्त छुट्याउँदै आएका छौँ ।’

शाक्यले कतिपय अवस्थामा व्यावसायिक अभियन्ताका कारण सम्पदा निर्माण–पुनर्निर्माणमा समस्या आउने गरेको गुनासो गर्नुभयो । कतिपय अभियन्ताले त सञ्चारमाध्यममा तस्बिर देखाउन र नाम लेखाउनका लागि पनि अवरोध सिर्जना गर्ने गरेको गुनासो उहाँले गर्नुभयो ।

‘सबै ठाउँमा अभियन्ताका मात्रै कुरा सुन्ने हो भने धेरै संरचनाकाे निर्माण कार्यमा अवरोध हुन्छ । अभियन्ताहरुप्रति मेरो सम्मान छ । तर कतिपय व्यावसायिक अभियन्ताले सञ्चारमाध्यममा तस्बिर देखाउन र नाम लेखाउनका लागि मात्रै पनि अवरोध गर्ने गरेका कारण चाँहि समस्या हुने रहेछ । नरबुद्धको पनि अवस्था त्यही नहोला भन्न सकिन्न ।’ उहाँले अझ काठमाण्डाै महानगरपालिका र त्यसमा पनि मेयरको अगुवाइमा निर्माण हुने काममा विभिन्न बहानामा अवरोध हुने गरेको गुनासो गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*