स्यार्पु तालमा डुबेर एक जनाको ज्यान गयो, एक बेपत्ता

जनपत्र
७ श्रावण २०७७, बुधबार १५:१३

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोटमा रहेकाे स्यार्पु तालमा डुबेर एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

बाँफिकोट गाउँपालिका ३ र ५ नम्बर वडामा फैलिएको तालमा बुधबार दिउँसो डुबेर त्यही गाउँपालिका ५ का २३ वर्षीय लोकबहादुर घर्तीको ज्यान गएकाे छ भने २० वर्षीय अनिल घर्ती बेपत्ता छन् । त्यही गाउँका २० वर्षीय शशी पुन भने बाहिर निस्कन सफल भएका छन् । अर्का १५ वर्षीय कमल विकलाई स्थानीय जेनिश पुरीले उद्धार गरेका थिए ।

उनीहरु चार जना बुधबार बिहान घरबाट बल्छी खेल्न भन्दै ५ नम्बर वडामा रहेकाे तालको सिरानमा पुगेका थिए । बल्छी खेल्न गएका उनीहरु पौडी खेल्न थालेका थिए । पौडी खेल्ने क्रममा अनिल घर्तीले ‘बचाउ बचाउ’ भनेपछि लोकबहादुर घर्ती उनलाई बचाउनकाे लागि तालमा पौडिएको घटनास्थलमै रहनुभएका ३ नम्बर वडाध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

स्यार्पु तालमा आउने खार खोलामा बढेको पानीले पौडने क्रममा चोट लाग्दा पानी खाएर उनीहरु तालमा बेपत्ता भएको बताइएको छ । बेपत्ता भएको केही समयमै लोकबहादुरको शव तालमै भेटिएको थियो भने डुङ्गामार्फत अनिलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*