नाकामा रोकिएको मरीच फिर्ता लैजान दिइने

जनपत्र
७ श्रावण २०७७, बुधबार ०५:५६

वीरगञ्ज नाका र भारतीय बन्दरगाहमा रोकिएको मरीच निर्यातकर्ताले फिर्ता लैजान पाउने भएका छन् । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वअनुमति नलिई ल्याइएको मरीच सम्बद्ध निर्यातकर्ताले चाहेमा लैजान दिने निर्णय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलवार गरेको हो ।

सरकारले गत चैत १६ गते केराउ, मरीच, सुपारी र छोकडा आयातमा प्रतिबन्ध लगाएपछि खाद्यको अनुमति नलिई आएका यस्ता वस्तुका करीब १ हजार कन्टेनर रोकिएका छन् । प्रतिबन्ध लाग्नुअघि नै सिपमेन्ट भइसकेको तर डीएपी र सीएडीको प्रक्रिया पूरा नभएको मरीच फिर्ता लैजान दिने निर्णय भएको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

वीरगञ्ज सक्खा बन्दरगाह भन्सारले जाँचपास रोकेपछि करीब ३ महीनादेखि यो बन्दरगाह, भारतको कोलकाता र विशाखापत्तनम्मा कन्टेनर अड्किएका छन् । यी कन्साइन्मेन्टमध्ये मरीच फिर्ता पठाउन पाइने भएको हो । मरीच फिर्ता गर्दा विदेशी मुद्रा अपचलन नहुने गरी व्यवस्था मिलाइनुपर्ने पनि सहसचिव ढाकालले बताए ।
मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण र भन्सार विभागलाई निर्णयको जानकारी पठाएको छ । प्रतिबन्ध लाग्नुअघि प्रक्रिया अघि बढेकोलाई भित्रिन दिने भनिएकाले खाद्यको पूर्वअनुमति नलिई आयात भएका कन्साइन्मेन्ट रोकिएको हो ।

मन्त्रालयले प्रक्रिया पूरा नगरी आएको मरीच फिर्ता लैजान दिने निर्णय असार ३० गते नै गरेको थियो । तर, भन्सारमा आइसकेको कन्साइन्मेन्ट के गर्ने भन्ने स्पष्ट नभएपछि भन्सारले रोकेको थियो । नाकामा आएर रोकिएको सुपारी पनि भित्र्याउन दिने प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको छ । सुपारीमा खाद्यको अनुमति आवश्यक नपर्ने भएकाले भिœयाउन दिने प्रस्ताव पठाइएको वाणिज्य मन्त्रालयका अधिकारीले बताए ।

आयात रोक्ने निर्णयलगत्तै खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले अनुमति दिन बन्द गरेपछि कन्साइन्मेन्ट रोकिएका हुन् । खाद्यको अग्रिम अनुमति नलिएर रोकिएका केराउ र छोकडाको विषय भने अन्योलमा छ । आयातकर्ताले पूर्वस्वीकृतिको बाध्यकारी प्रावधान नभएकाले १६ चैतअघिको कन्साइन्मेन्ट आयात गर्न पाउनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रयोजनका लागि गरेको पूर्वअनुमतिको व्यवस्थालाई देखाएर सरोकारका अन्य निकायले अनावश्यक दुःख दिएको आरोप आयातकर्ताले लगाएका छन् । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*