यी नदी र खोलामा बाढीको जोखिम
काठमाण्डौ – रातिदेखि नै ठूलो पानी परिरहेकाले केही नदी र खोलामा पानीको सतह बढेको छ ।
त्रियुगा, खाडो, बालन खुट्टी, चुरियाखोला, माउली, रातो, बिगही, झिमखोला हर्दीखोला, मरहाखोला, लखन्देही र साना नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
आज नारायणी नदीमा पनि पानीको बहाव खतराको तह आसपास छ । त्यस्तै कन्काई, कोशी, कमला, तिनाउ, बबई, पश्चिम राप्तीका केही सहायक नदीमा पनि बहाव सतर्कता तह पुग्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ । काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा वर्षा भइरहेको छ ।
वाग्मती सहित विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक पुगेको छ ।
बाढी पूर्वानुमान महाशाखाले सडक किनार र होचा ठाउँमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।