महासंघले साउन ७ देखि यातायात चलाउने

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले साउन ७ गतेपछि यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका केही समस्यालाई सम्बोधन गरेको बताउँदै गाडी सञ्चालन गर्ने तयारी गरिएको महासंघले बताएको छ । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि विविध माग राखेर महासंघ यातायात सञ्चालन गर्न तयार भएको थिएन ।
व्यवसायीले लामो समयदेखि व्यवसाय बन्द भएपछि यातायात क्षेत्र विनाराहत पुनः सञ्चालन गर्न नसकिने भन्दै राहतको माग राखेका थिए । सरकारले लकडाउन अवधिभरको बैंक किस्ता स्थगन, ब्याज मिनाह, पुनर्कर्जाको व्यवस्था, स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था, सवारी निर्मलीकरणका लागि टनेलको व्यवस्थालगायत माग महासंघको थियो । बैंक कर्जा, ब्याजदरलगायत विषयमा मौद्रिक नीतिले केही सम्बोधन गरेको बताउँदै महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आफू आबद्ध सबै कम्पनीलाई गाडी सञ्चालन गर्न सर्कुलर गर्ने बताए ।