श्रीमती हत्याको अभियोगमा जन्मकैद रहेका पूर्वडिआइजी कोइरालाको कैद सजाय कटौती
सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जनकुमार कोइरालाको कैद सजाय घटाएको छ । श्रीमती हत्याको अभियोगमा अदालतले सुनाएको सर्वस्वसहित जन्मकैदको सजाय कटाइरहेका कोइरालालाई अदालतले ८ वर्ष ६ महिना मात्रै कैद सजाय सुनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाले साढे ८ वर्ष मात्रै जेल बस्दा पुग्ने फैसला गरेको छ । गत १५ असारमा भएको फैसला हालै मात्रै सार्वजनिक भएको हो । अदालतले आदेशमा कोइरालालाई साविक मुलुकी ऐन अ.ब. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर ‘सजाय निर्धारण तथा कार्यान्वयन’ ऐन, २०७४ को दफा १७ ‘क’ अनुसार ८ वर्ष ६ महिना कैद हुने फैसला गरेको हो ।
८ माघ २०६८ बाट हालसम्म थुनामा बसेकामा सर्वोच्च अदालतको ठहरबमोजिम ८ वर्ष ६ महिना यही ७ साउनमा पुग्दै छ ।यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले ७ वैशाख २०७१ मा पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । जिल्ला अदालतको फैसलालाई तत्कालीन पुनरावेदन अदालतले २३ मंसिर २०७२ मा सदर गरेको थियो । तत्कालीन पुनरावेदन अदालतले पनि जिल्लाको आदेश सदर गरेपछि कोइराला त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । राजधानी दैनिकबाट