महिलालाई अर्धनग्न बनाएर दुर्व्यवहार गर्नेविरूद्ध प्रहरीमा उजुरी
पर्साको छिपहरमाई गाउँपालिकाकी एक जना एकल महिलालाई अर्धनग्न बनाएर दुर्व्यवहार गरेको खुलेको छ।
जयमंगलापुरकी ४८ वर्षीया ती महिलालाई अर्धनग्न बनाएर जुत्ताको माला लगाएर गाउँ डुलाएको घटना उनले प्रहरीकोमा उजुरी दिएपछि बाहिर आएको हो।
असार ३१ गते उनलाई दुर्व्यवहार भएको थियो। उनले आफूमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा आठ जनाविरूद्ध जाहेरी दिएकी छन्।
उक्त घटनामा जिल्ला समन्वय समितिका सदस्यसहित आठ जना सम्लग्न रहेको भन्दै उनीहरूविरूद्ध प्रहरीकोमा उजुरी परेको हो।
ती महिलाको जाहेरीको आधारमा शनिबारसम्म पाँच जनालाई पक्राउ गरिसकिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। अरूको खोजी कार्य जारी रहेको उनले बताइन्।
‘पाँच जनाविरूद्ध मुद्दा पनि चलिसकेको छ,’ उनले भनिन्, ‘थप अनुसन्धान हुँदैछ।’
घटनाबारे बुझ्न सेतोपाटीले वडा नम्बर ३ का अध्यक्ष विनोद साह कानुलाई सम्पर्क गर्दा उनले गैरजिम्मेवार प्रतिक्रिया दिए।
‘यो घटना हाम्रै वडाको हो। ती महिला पहिलेदेखि नै चरित्रहीन थिइन्,’ वडाध्यक्षको भनाइ यस्तो थियो, ‘ उनको धेरै काण्डहरु छन्। घरायसी झगडा पनि रहेछ, हामीले मिलाउने प्रयास गर्यौ। तर मिलेन।’