काठमाण्डौ उपत्यकामा समुदायमा कोरोना सङ्क्रमण भेटिएन : मन्त्रालय

जनपत्र
३ श्रावण २०७७, शनिबार ०५:५७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाण्डौ उपत्यकामा अहिलेसम्म समुदायमा कोरोना भाइरसको सङ्क्रमण नभेटिएको जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाभित्र भक्तपुरमा दुई र काठमाण्डौमा एक गरी तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित तीन जनामध्ये दुई जना भर्खरै विदेशबाट फर्किएका र एक जना ब्युटी पार्लर व्यवसायमा संलग्न व्यक्ति रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

अन्य विभिन्न तथ्य र प्रमाणले पनि काठमाण्डौ उपत्यकामा समुदायस्तरमा सङ्क्रमण नफैलिएको पुष्टि भएको पनि उहाँले बताउनुभयो । सङ्क्रमणको जोखिम भने कायमै रहेको र सतर्कता अपनाउन उहाँको सुझाव छ । पछिल्लो २४ घण्टामा थप एक सय एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार चार सय ४५ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार पाँच सय ३४ जना उपचारपछि निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्रदेश १ बाट सात सय ४४, प्रदेश २ बाट दुई हजार पाँच सय ८८, वाग्मती प्रदेशबाट चार सय १३, गण्डकीबाट नौ सय ४६, प्रदेश ५ बाट तीन हजार ६ सय ९२, कर्णाली प्रदेशबाट एक हजार चार सय ९२ र सुदूरपश्चिमबाट एक हजार ६ सय ५९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*