टेलिकमको पोस्टपेड र एफटीटीएचमा नयाँ अफर
नेपाल टेलिकमले पोस्टपेड मोबाइल र एफटीटीएच सेवामा विभिन्न अफर उपलब्ध गराएको छ । टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा ल्याएका अफर साउन १ गते देखि लागु भएका हुन् ।
फाइबर टु द होम अर्थात एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइए टेलिकमको दाबी छ । जसको डाटा प्याकअन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएका छन् । टेलिकमले २० एमबीपीएसको मासिक शूल्क १२ सय रुपैयाँ कायम गरिइको छ । यस्तै ५० एमबीपीएसको एक महिनाको प्याक १८ सय रुपैयाँ पर्नेछ ।
कम्बो प्याकअन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध छन् । योजना अनुसार १५ एमबीपीएसको शूल्क मासिक १ हजार, २५ एमबीपीएसको १५ सय र ६० एमबीपीएसको २ हजार रुपैयाँ पर्नेछ । प्रत्येक कम्बो प्याक अन्तर्गत हरेक प्याकमा मासिक २ सय ५० मिनेट भ्वाइस सेवा समावेश गरिएको छ । यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना प्रयोग गर्न मिल्नेछ ।
पोस्टपेड मोबाइलतर्फ टेलिकमले नेपाल सरकारको निर्णयानुसार स्वामित्व शुल्कमा परिमार्जन गरिएको छ । हाल पोस्टपेड मोबाइलमा पहिलो पटक सिम खरिद गर्दा लागु भइरहेको ५ सय रुपैयाँ स्वामित्व शुल्क अब नलाग्ने भएको छ ।
प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लागु हुने कम्पनीको दाबी छ । सो अनुसार हाल नयाँ सिमकार्ड लिनका लागि ९ सय ४५ रुपैयाँ लाग्ने गरेकोमा अब ५ सय रुपैयाँमा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने छ ।
५ सय रुपैयाँमा खरिद गरिने पोस्टपेड मोबाइलमा ४ सय ६० रुपैयाँ क्रेडिट लिमिट रहने छ । पोस्टपेड मोबाइलमा जुनसकै माध्यमबाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ ।
पोस्टपेड मोबाइलमार्फत् प्रदान गरिने सुविधालाई एक महिना समयावधि भएका विभिन्न नयाँ प्याकहरु बनाइएका छन् । यस अन्तर्गत बेसिक प्याक ३ सय ८४, प्रिमियम प्याक ७ सय ४९, गोल्ड प्याक ९ सय ९९, डायमन्ड प्याक १४ सय ९९ र प्लाटिनम प्याक २४ सय ९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।