दर्ता गरेर मात्र सेनिटाइजर उद्योग स्थापना गर्न माग

जनपत्र
२ श्रावण २०७७, शुक्रबार ०६:०७

नेपाल औषधि उत्पादक सङ्घले दर्ता गरेर मात्र सेनिटाइजर उत्पादन गर्न पाउने माग गरेको छ । सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका महासचिव विप्लव अधिकारीले सेनिटाइजरको गुणस्तर परीक्षण नगरी र दर्ताबिना नै सञ्चालनमा रहेका उद्योगलाई दर्ताका लागि पुनः तीन महिनाको समय दिएकाले दर्ता गराएर मात्र सेनिटाइजर उत्पादन गर्न आग्रह गरे ।

सेनिटाइजरमा नेपाली औषधि उद्योग आत्मनिर्भर भइसकेको अवस्थामा बिनादर्ता सेनिटाइजर उद्योगलाई उत्पादन गर्न दिने र त्यसपछि मात्र दर्ता गर्नदिने निर्णयले गुणस्तरहीन सेनिटाइजर उत्पादन भई स्वास्थ्यमा असरपर्ने उनले बताए ।औषधि व्यवस्था विभागले यसअघि चैत ९ गते सूचना निकाल्दै दर्ता नभएका सेनिटाइजर उद्योगलाई तीन महिना दर्ता गर्न भनेको थियो । त्यसपछि पनि विभागले पुनः यही असार ९ गते उत्पादन गरिरहेका सेनिटाइजर उद्योगलाई दर्ता गर्नका लागि तीन महिनाको समय थप गरेको छ ।

सङ्घले यसरी तीन महिना थप गरिँदा बजारमा मापदण्ड विपरीतका सेनिटाइजर उद्योग खोलिने क्रम बढ्ने र त्यसले स्वास्थ्यमा असर पुग्ने बताए । अहिले ४० उद्योगले १२० प्रकारका सेनिटाइजर उत्पादन गरिरहेका छन् । संघले केही दिनेदेखि पुनः सेनिटाइजर उद्योग दर्ता गर्नदिने निर्णयविरुद्ध विभागमा दैनिक एक घण्टा धर्ना दिँदै आइरहेको छ । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*