सोलु करिडोरमा कार्यरत १५ भारतीय मजदुरमा कोरोना सङ्क्रमण
ओखलढुङ्गा – ओखलढुङ्गामा विद्युत् आयाेजनाकाे साेलु करिडाेर खण्डमा कार्यरत १५ जना भारतीय मजदुरमा कोरोना सङ्क्रमण देखिएकाे छ ।
सङ्क्रमित मजदुरहरु आयाेजनामा काम गर्न भारतबाट गएकाे असार २६ गते मानेभञ्ज्याङ आइपुगेका थिए । सङ्क्रमण पुष्टि भए पनि अहिले उनीहरु मानेभञ्ज्याङ गाउँपालिकामा नरहेको पाइएको छ ।
स्थानीयले भारतबाट आएकालाई काम गर्न नदिएपछि शुक्रबार बिहानै उनीहरुलाई आयोजनाले उदयपुर पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीको भनाइ छ ।
मानेभञ्ज्याङमा रहँदा बालेथाम र रिचुवाको विद्यालयमा सङ्क्रमण पुष्टि भएका मजदुरहरु बसेको पाइएको मानेभञ्ज्याङ गाउँपालिकाकी उपाध्यक्ष सविता राईले बताउनुभयो ।
यसअघि ओखलढुङ्गामा ६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै ओखलढुङ्गामा कोरोना सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या २१ पुगेको छ । सङ्क्रमितमध्ये एक जना भने निको भएर घर फर्किसकेका छन् ।