मकवानपुरको थाहा नगरपालिका आर्थिक अनुशासनमा देशमै उत्कृष्ट
हेटौंडा – मकवानपुरको थाहा नगरपालिका आर्थिक अनुशासनमा देशमै उत्कृष्ट भएर पुरस्कृत भएको छ । आर्थिक वर्ष २०७४/७५ सम्मको बेरुजु अंकको ९६.०६ प्रतिशत फछ्र्यौट गरेको भन्दै थाहा नगरपालिलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेको हो ।
अघिल्लो आर्थिक वर्ष देशभरको उत्कृष्ट–४ मा पर्न सफल थाहा नगरपालिका यस वर्ष भने मुलुकभरका ७ सय ५२ स्थानीय तहलाई पछि पार्दै बेरुजु फछ्र्योटमा सर्वोत्कृष्ट घोषित हो । आर्थिक अनुशासनमा देशमै सर्वोत्कृष्ट घोषित भएकोमा नगरप्रमुख लवशेर बिष्टले आभार व्यक्त गरेका छन् ।
आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षणमा बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई देशभरको सर्वोत्कृष्ट घोषणा गरेको नगरप्रमुख बिष्टले जानकारी दिए ।
बेरुजु फछ्र्यौट कार्ययोजना र मार्गदर्शनअनुसार कर्मचारीलाई प्रशंसापत्रसहित पुरस्कृत गर्ने मन्त्रालयको निर्णय छ । थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा बेरुजु २.५४ प्रतिशतमात्र कायम गरेको छ । थाहानगरको आर्थिक वर्ष २०७४/७५ सम्मको १ करोड ४९ लाख ५२ हजार रुपैयाँ बेरुजु फछ्र्यौट भएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।
नगरपालिकाको तर्फबाट उल्लेख्य कार्य गरेकोमा प्रमुख प्रशासकीय अधिकृत पुरी र लेखा अधिकृत विष्णु भुसाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनही ५ हजार पुरस्कार र सम्मानपत्र प्रदान गरेको बताइएको छ । महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणमा ४ प्रतिशत भन्दा कम बेरुजु हुने कार्यालयलाई आर्थिक अनुशासन राम्रो भएको मानिन्छ ।