काठमाण्डौमा केही सार्वजनिक बस गुड्न थाले, साझाका बस साउन १ गतेदेखि चल्ने

जनपत्र
३० असार २०७७, मंगलवार ०६:२७

काठमाण्डौ उपत्यकामा सोमबारदेखि केही सार्वजनिक बस चल्न थालेका छन् । सोमबारदेखि मयूर र संयुक्त यातायातका केही बस चल्न थालेका हुन् । मयूर यातायातले सोमबारदेखि काठमाण्डौ उपत्यकाको चक्रपथ र चक्रपथ हुँदै काभ्रेको धुलिखेलसम्म सेवा दिन थालेको छ ।

मयूर यातायात प्रालीका सञ्चालक राज श्रेष्ठका अनुसार सोमबार चक्रपथमा तीन वटा र चक्रपथ हुँदै धुलिखेलसम्म दुई वटा बस सञ्चालन भइरहेको छ । यो सङ्ख्या मङ्गलबारदेखि बढ्दै जाने उहाँले बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ, ‘मङ्गलबारदेखि १५ २० वटा बस सञ्चालनको लागि तयारी भइरहेको छ, त्यसको लागि लकडाउनको क्रममा ठाउँ ठाउँमा रोकिएका गाडीलाई काठमाण्डौ ल्याउने तयारी भइरहेको छ ।’

मयूर यातायातले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार गाडी चलाएको पनि जनाएको छ । ४०–४१ सिट क्षमताको बसमा सोमबार २० जना यात्रुलाई मात्रै राखेर यात्रा गराइएको श्रेष्ठले बताउनुभयो । यात्रुलाई मास्क लगाउन अनिवार्य गरिएको छ । ढोकामा स्यानिटाइजर पनि राखिएको छ । चालक र सहचालकले पञ्जा पनि लगाएको उहाँले बताउनुभयो ।

यस्तै सरकारको निर्णयअनुसार नै यात्रुबाट भाडा लिने गरेको पनि सञ्चालक श्रेष्ठले बताउनुभयो । सरकारले ५० प्रतिशतसम्म बढाएर भाडा लिन सकिने निर्णय गरेको छ । अहिले यात्रुबाट न्यूनतम भाडा २० रुपैयाँ लिने गरेको मयूर यातायातले जनाएको छ ।

सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरे पनि साझा यातायातका बस अझै ग्यारेजमै थन्किएका छन् । अब साउन १ गतेदेखि बस चलाउने तयारी गरेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*