काठमाण्डाैमा गुड्न थाल्याे मयूर यातायात

जनपत्र
२९ असार २०७७, सोमबार १७:२९

काठमाण्डौ – सार्वजनिक गाडी चलाउने सरकारको निर्णय धेरै निजी कम्पनीले अटेर गरे पनि मयूर यातायातले पालना गरेको छ । मयूर यातायातले सोमबारदेखि काठमाण्डौ उपत्यकाको चक्रपथ र चक्रपथ हुँदै काभ्रेको धुलिखेलसम्म सेवा दिन थालेको छ ।

मयूर यातायात प्रालीका सञ्चालक राज श्रेष्ठका अनुसार सोमबार चक्रपथमा तीन वटा र चक्रपथ हुँदै धुलिखेलसम्म दुई वटा बस सञ्चालन भइरहेको छ, यो सङ्ख्या मङ्गलबारदेखि बढ्दै जानेछ । अहिले मयूर यातायातसँग ४४ वटा गाडी छ ।

श्रेष्ठ भन्नुहुन्छ, ‘मङ्गलबारदेखि १५/२० वटा गाडी सञ्चालनका लागि तयारी भइरहेको छ, त्यसको लागि लकडाउनको क्रममा ठाउँठाउँमा रोकिएका गाडीलाई काठमाण्डौ ल्याउने तयारी भइरहेको छ ।’

मयूर यातायातले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अनुसार गाडी चलाएको पनि जनाएको छ । ४०–४१ सिट क्षमताको बसमा सोमबार २० जना यात्रुलाई मात्रै राखेर यात्रा गराइएको छ ।

यस्तै बस चढ्न मास्कलाई अनिवार्य गरिएको छ भने स्यानिटाइजर र पञ्जा पनि अनिवार्य लगाउन मयूर यातायात कम्पनीका सञ्चालक श्रेष्ठको आग्रह छ । उहाँले बसभित्रै स्यानिटाइजरको व्यवस्था गरेको जानकारी दिनुभयो ।

यस्तै सरकारको निर्णयअनुसार नै यात्रुबाट भाडा लिने गरेको पनि सञ्चालक श्रेष्ठले बताउनुभयो । सरकारले ५० प्रतिशतसम्म बढाएर भाडा लिन सकिने निर्णय गरेको छ । अहिल यात्रुबाट न्यूनतम भाडा २० रुपैयाँ लिने गरेको मयूर यातायातले जनाएको छ ।

गएको असार २३ गतेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशतसम्म बढी भाडा लिएर र सुरक्षा सावधानी अपनाएर सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सबै कर्मचारीको सुरक्षाको ग्यारेण्टी नभएसम्म गाडी नचलाउने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*