पहिरोपीडितलाई हेलिकोप्टरबाट राहत सामग्री
जाजरकोटका पहिरोपीडितलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट राहत लगिएको छ ।
बिहीवार राती जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीको पहिरोले दुई घर बगाउँदा ७ जनाको ज्यान गएको छ भने ५ जना अझै बेपत्ता छन् । पीडित परिवारलाई राहत सामग्री बोकेर शनिवार त्यसतर्फ हेलिकोप्टर पठाइएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले बताए ।
उनका अनुसार हेलिकोप्टरले २५ थान त्रिपाल, २५ थान कम्बल, तीन बोरा च्युरा, १८० प्याकेट चाउचाउ र ५० केजी चामल लगेको छ । १० बोरा चामल लैजाने तयारी गरिएको भए पनि प्राविधिक कारणले तत्काल ५० केजी मात्रै पठाइएको उनले बताए । पीडित परिवारलाई थप राहत र विस्थापितहरूको व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी थालेको मन्त्रालयको भनाइ छ ।