गैंडाकोटमा डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
जनपत्र
२७ असार २०७७, शनिबार ०९:१६
नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
नारायणगढ –बुटवल सडक खण्ड विस्तारको आयोजना अन्तर्गत गैंडाकोट –९, थुम्सीमा पुल निर्माणको क्रममा डाइभर्सन निर्माण गरिएको थियो । त्यही डाइभर्सन आज बिहान ४ बजेको समयमा बाढीले बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँडले बताउनुभयो ।
बाढीले डाइभर्सन बगाएपछि आवतजावत पूर्ण रुपमा रोकिएको छ । खाद्यान्न लगायतका अन्य सामाग्री ढुवानी गर्ने गाडी बिहानदेखि नै रोकिएका छन् । अन्य अत्यावश्यक कामले गुडेका निजी गाडी समेत रोकिएका छन् ।
बगाएको डाइभर्सन बनाउने काम सुरु गरिएको प्रहरी नायब उपरीक्षक खाँडले बताउनुभयो । उहाँका अनुसार यातायात सञ्चालनमा आउन अझै केही घण्टा लाग्नेछ ।