पहिरो र बाढीजन्य प्रकोपका १६३ घटना : ५० जनाको ज्यान लियो, २ सय ६५ परिवार प्रभावित

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्मै सबै प्रदेशमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।
जनपत्र
२६ असार २०७७, शुक्रबार २१:२६

काठमाडौँ — दुई दिन यताको भारी वर्षाका कारण देशका विभिन्न भागमा पहिरोका घटना बढेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्मै सबैजसो प्रदेशहरुमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार वैशाख १ देखि शुक्रबारसम्म देशभर पहिरो र बाढीका १ सय ६३ वटा घटना भएका छन्, त्यसमा परेर ५० जनाको ज्यान गएको छ भने २४ जना बेपत्ता छन् । पहिरो र बाढीका कारण ९१ घरमा क्षति पुगेको छ । यसबाट १२ करोड ८३ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ । पहिरोबाट २ सय ६५ परिवार प्रभावित भएका छन् । ३० जेठदेखि नेपालमा मनसुन सुरु भएको हो । जल तथा मौसम विज्ञान विभागका विशेषज्ञहरुले यो पटकको मनसुन सुरु भएदेखि नै सक्रिय भएको बताएका छन् । त्यससँगै यो वर्षको मनसुनमा पहिरोका घटना बढी भएका छन् ।

वर्षापछि बुधबार वाग्मती प्रदेशको सिन्धुपाल्चोकमा बितण्डा मच्चाएको पहिरो र फ्लास फ्लडले बिहीबार र शुक्रबार गण्डकी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा क्षति गरेको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण गण्डकीको कास्कीका विभिन्न स्थानमा पहिरोले जनधनको क्षति गरेको छ । पोखरा–१८ सराङकोट गोठादी, १७ को छोरेपाटन, २५ को हेम्जा, २६ को पौतेडाँडा, १९ को तल्लोडाँडामा पहिरोले क्षति गरेको छ । विशेषज्ञहरुले जथाभावी र अवैज्ञानिक हिसाबले निर्माण गरिएका विकास निर्माणका संरचनाका कारण धेरै स्थान कमजोर बनेकाले वर्षापछि पहिरो निम्तिएको विश्लेषण गरेका छन् ।

कास्कीकै माछापुच्छ्रे गाउँपालिका–९ को चुङडुङमा पहिरोले क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ । जानकारहरुका अनुसार पहाडी क्षेत्रमा २४ घन्टामा १ सय मिलिमिटर वर्षा भएमा पहिरोको जोखिम अत्यधिक हुन्छ । २ सय मिलिमिटर वर्षा भए पहिरो सुरु हुन्छ भने ३ सय मिलिमिटर वर्षा भए ठूलो पहिरोको सम्भावना हुन्छ । शुक्रबार बिहान पौनो ९ बजे २ सय १४ वटा वर्षा मापन केन्द्रहरु (मानव सञ्चालितः ३७ र स्वचालितः १७७) मा मापन गरिएको वर्षाको विवरणअनुसार १ सय ८६ वटा केन्द्रमा वर्षा भएको छ ।

ती केन्द्रमध्ये सबभन्दा बढी वर्षा कास्कीको पोखरा विमानस्थल केन्द्रमा मापन गरिएको महाशाखाले उल्लेख गरेको छ । वर्षा मापन भएका केन्द्रहरुमध्ये एउटामा ५० मिमिभन्दा बढी, २ वटा केन्द्रमा २०० मिमिभन्दा बढी, ३ वटा केन्द्रमा १५० मिमिभन्दा बढी, १६ वटा केन्द्रमा १०० मिमिभन्दा बढी, ५९ वटा केन्द्रमा ५० मिमिभन्दा बढी, १०६ वटा केन्द्रमा २५ मिमिभन्दा बढी र १ सय ४८ वटा केन्द्रमा १० मिमिभन्दा बढी वर्षा मापन भएको छ ।

लमजुङको बेसिसहर नगरपालिका– ७ सातबिसे र वडा नम्बर ६ मा पनि पहिरोले क्षति गरेको छ । यस्तै, म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ, वडानम्बर ७ को ताकम, मालिका गाउँपालिका–७ बिम र मालिका गाउँपालिका–४ देवीस्थानमा पनि पहिरोले क्षति गरेको छ ।

पोखरा–कोरला सडकको भौगर्भिक अवस्था र पहिरोजन्य प्रकोबारे अध्ययन गरिरहेका भूगर्भविद् वसन्तराज अधिकारीले भूकम्पले हल्लाएर कमजोर बनेको भागमा यो पटकको मनसुनमा धेरै वर्षा भएकाले पहिरोको रुप लिएको बताए । ‘भूकम्पले हल्लाएको पहाडी क्षेत्र धेरै समयसम्म स्थीर भएको हुँदैन, भित्रि भाग कमजोर नै हुन्छ,’ विज्ञ अधिकारीले शुक्रबार कान्तिपुरसित भने, ‘त्यस्तो भागमा बढी वर्षा भयो भने पहिरोको रुप लिने सम्भावना बढी हुन्छ । अहिले पहिरो देखिएका गण्डकीका धेरै स्थान भूकम्पले हल्लाएर कमजोर बनाएको क्षेत्र नै हो ।’

म्याग्दीको गलेश्वरमा भने पुल र मानवबस्ती नै होचो स्थानमा भएको र त्यस क्षेत्रको जलाधारमा पानीको बहाब बढेकाले क्षति गरेको अधिकारीले उल्लेख गरे । जल तथा मौसम विज्ञान विभागले देशका ठूला र मझौला नदीमा पानीको बहाब अनुगमन गरिरहको छ । गण्डकीका पनि धेरै नदीमा पानीको बहाब बढेको छ ।

कर्णाली प्रदेशको जाजरकोट बारेकोट गाउँपालिका–४ को सार्कीगाउँमा पनि पहिरोले जनधनको क्षति गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ मा पनि पहिरोले क्षति गरेको छ ।

यस्तै, दोलखाको जिरी नगरपालिका–५ लिङकन, सिन्धुलीको सुनकोसी गाउँपालिका–१ कमेरेफाँट, मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ सिमखेलमा समेत पहिरोले क्षति गरेको छ । पहिरोका कारण बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र भीमफेदी–काठमाडौं सडक खण्ड अवरोध भएको छ ।

प्युठानको सरुमारानी गाउँपालिका–४ ठूलोघुम्तीस्थित भालुबाङ प्युठान सडक खण्डमासमेत वर्षाका कारण पहिरोले क्षति गरेको छ । प्राधिकरणका विशेषज्ञहरूले यस वर्ष पहिरोका २ लाख ५० हजार घटना हुने अनुमान गरेका छन् ।

मध्य र उच्च पहाडी क्षेत्रमा पहिरोसँगै तल्लो तटीय समथर क्षेत्रमा बाढीको विपद् निम्तिने उनीहरूको आकलन छ । नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् प्राध्यापक नरेन्द्रराज खनालका अनुसार पहाडी क्षेत्रमा कहाँ, कहिले र कत्रो पहिरो जान्छ भन्ने कुरा भौगर्भिक बनावट, भिरालोपन, भूकम्प लगायतका भौगर्भिक हलचल, खोलाखोल्सीको फैलावट, वर्षाको मात्रा भू–उपयोगको तरिका र विकास निर्माणले निर्धारण गरेको हुन्छ ।

प्राधिकरणको तथ्यांकअनुसार २०६८ देखि २०७६ सम्म पहिरोका कारण ९ सय ४ जनाको ज्यान गएको छ भने ७ सय ७० जना घाइते भएका छन् । गत वर्षको मनसुनमा ८३ जनाको पहिरोमा परेर ज्यान गएको थियो ।

यो समाचार हामिले इकान्तिपुरबाट साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*