जोखिमकै बीचमा युवा विदेश जान तयार, देशभित्र रोजगारी नपाउँदा वैदेशिक राेजगारीमा आकर्षित
काठमाण्डौ – लकडाउन हुनुभन्दा अघि नै मलेसियाबाट बिदामा घर आएका धादिङका रमेश कार्कीले चार महिनासम्म स्वदेशमै काम खोज्नुभयो । तर लकडाउनले धेरैको रोजगारी गुमेको बेला उहाँले खोजेजस्तो काम पाउन सक्नु भएन । त्यसपछि सरकारले खोल्नासाथ उहाँले मलेसिया जान पुनः श्रम स्वीकृति लिनुभएको छ ।
मलेसियाबाट बिदामा घर फर्कनुभएको थियो रमेश । कम्पनीले दिएको बिदा सकिनै लाग्दा कोरोनाको जोखिम बढ्यो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्यो । देशमा लकडाउन भयो । उहाँ मलेसिया फर्कन पाउनुभएन ।
बिदामा आएका रमेश लकडाउनमा घरभित्रै बन्द हुँदा उता मलेसियामा काम चलि नै रहयो ।
मलेसियाका पाहाङ राज्यमा सुपरमार्केमा काम गर्नुहुन्छ रमेश । कमाइ महिनाको ६० हजार रुपैयाँ छ । बिदामा फर्किएकाले दुई महिनाको तलब त कम्पनीबाट लिनै बाँकी छ ।
‘यहाँ अहिले काम पाइँदैन, उता त गएपछि काम र कमाइ पक्का छ, किन बस्नु त यहाँ ?’ रमेश कोरोना महामारीकै बीचमा परदेश जान खोज्नुको कारण बताउनुहुन्छ ।
रमेशले जस्तै गुल्मीका मणी ज्ञवालीले पनि पुनः श्रम स्वीकृति खुलेपछि यूएई जाने प्रक्रिया थाल्नुभएको छ । मार्च २ तारिखमा बिदामा घर आउनुभएका मणी कोरोना महामारीका कारण बिदा सकिएपछि फर्कन पाउनुभएन ।
उहाँ घरमै रोकिंदा पनि उता यूएईमा भने उहाँको काम रोकिएन । सुपरमार्केटमा काम गर्ने मणीको कम्पनी चलिरहेकै छ । झण्डै चार वर्षदेखि त्यही कम्पनीमा कार्यरत उहाँलाई सेवासुविधा र तलब पनि राम्रो दिएको छ । यहाँ यतिका महिना बस्दा पनि स्वदेशमै के काम गर्ने भनेर उहाँले मेसो पाउनुभएको छैन । उडान बन्दा हुँदा परदेशबाट कम्पनीले बोलाउँदा पनि जान पाइएन भन्नुहुन्छ मणी ।
‘सबै साथीहरुले काम गरिरहेका छन्, कसैलाई पनि केही भएको छैन, मैले पनि गएपछि सुरक्षा सतर्कता अपनाएरै काम गर्ने हो’ मणी भन्नुहुन्छ, ‘हुँदाखाँदाको जागिर छाडेर यहाँ के गर्नु ? न काम पाइन्छ, न अन्य केही कमाइको बाटो नै छ ।’
मणीले यूएई जानको लागि प्रक्रिया थाल्नुभएको छ । त्यसका लागि कम्पनीसँग समन्वय पनि भइरहेको छ । उताको प्रक्रिया मिल्नासाथ मणी यूएई उड्ने योजनामा हुनुहुन्छ ।
यहाँ बेरोजगार बस्नुभन्दा सुरक्षा सतर्कता अपनाएर परदेश जान परिवारले पनि अनुमति दिएका छन् । ‘परीक्षण गरेरै जाने हो, उता पनि सुरक्षाका उपायहरु अपनाइन्छ, डर छैन’ मणी भन्नुहुन्छ ।
सरकारले पुनः श्रम स्वीकृति खोलेको चार दिनको अवधिमा मणी र रमेशजस्तै एक हजार ७९ जनाले विदेश जानका लागि पुन : श्रम स्वीकृति लिएका छन् ।
यूएईका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै रहेको वैदेशिक रोजगार कार्यालय ताहाचलको तथ्याँकले देखाउँछ । यूएई जानका लागि मंगलबारसम्ममा ५०३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यूएई पछि कतार जाने नेपालीको सङ्ख्या पनि धेरै नै रहेको छ । पछिल्ला चार दिनमा कतार जानका लागि १०५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
त्यसैगरी मलेसिया जानका लागि ८० जनाले पुन ः श्रम स्वीकृति लिएका छन् भने कुवेत जानका लागि पनि श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै नै रहेको छ । ३३ जनाले कुवेत जानका लागि पुन ः श्रम स्वीकृति लिएका छन् । यस्तै बहराइन जान १७ जनाले, ओमान जान १२ जनाले र माल्टा जानका लागि २९ जनाले पुन ः श्रम स्वीकृति लिएका छन् । यस्तै जापान, कोरिया, युगाण्डा लगायत विभिन्न देशमा जानका लागि नेपालीले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।
थप रोजगारी सृजना भएन, युवा वैदेशिक रोजगारीमै आकर्षित भए
विदेशमा कोरोना महामारीको चपेटामा परेर धेरै जना घर फर्कंदैछन् । २० हजारभन्दा बढी त फर्किसके । फर्कन टिकट समेत काट्न नसक्ने अवस्थामा पुगेका श्रमिकको उद्धारका लागि सरकार जुटिरहेका बेलामा फेरि कतिपय युवाहरु तिनै देश जान तयार छन् । यसले देशमा रोजगारीको अवसर र वातावरण अझै छैन भन्ने पुष्टि हुन्छ ।
महामारीका बेलामा सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर ल्याएका योजनाले आकर्षित नगरेको र पालिका स्तरमा नयाँ रोजगारी सृजना नभएको कारणले पनि युवाहरु वैदेशिक रोजगारीमै आकर्षित भएका आप्रवास विज्ञ डा. गणेश गुरुङ बताउनुहुन्छ ।
अहिले खाडीसहित विभिन्न देशबाट हजारौंको सङ्ख्यामा नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश आइरहेका छन् । टिकट काट्नै नसकेर अलपत्र परेकालाई उद्धार गर्न सरकारले कार्यविधि बनाइरहेको छ । यही जोखिमका बीच युवाहरु विदेश जान तयार भएका छन् ।
नेपालमा मात्र होइन, अहिले नेपाली जाने तयारी गरिरहेका यूएई, कतार, बहराइन, कुवेत लगायतका देशमा कोरोनाको जोखिम दिनहुँ बढिरहेको छ । सङ्क्रमितको सङ्ख्या पनि त्यसैगरी बढिरहेको छ । तर यो महामारीका बीचमा पनि युवाले वैदेशिक रोजगारी नै रोज्नुको कारण देशमा उनीहरुले अवसर नै नपाएको र पाउनेलाई पनि त्यसले बाँध्न नसकेको विज्ञ डा. गुरुङको भनाइ छ ।