भक्तपुरमा इनारबाट निस्कियो ग्यास
चाँगुनारायण नगरपालिका २ हिन्दुनगरमा मङ्गलबार बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते हुनुभएको छ । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाई कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उहाँको अनुहारसहित केही भाग जलेको हो ।
उहाँको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उदयपुर स्थायी घर भएकी उहाँले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी इनार खन्नुभएको थियो । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ ।सलाई कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो । यस वडाध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिनुभएको थियो ।