उपयुक्त वातावरण नभएपछि आफैं मर्न थाले सलह

जनपत्र
२३ असार २०७७, मंगलवार १९:३८

अनुकुल वातावरण नभएपछि नेपाल आएका सलह हराउँदै गएका छन्। मौसम अनुकुल नहुँदा सलह आफैं मर्न थालेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिए।

‘तराईबाट प्रवेश गरेको सलह हावाको वेगअनुसार उत्तर, पश्चिमतिर लागेका थिए,’ उनले भने, ‘चिसोका कारण सलह आफैं मर्न थालेको जिल्लाका प्राविधिक रूपले बताएका छन्।’

उनकाअनुसार २२ डिग्री सेल्सियसभन्दा कम तापक्रममा सलह बाच्न सक्दैन। बाग्लुङ, रूकुमपूर्व तथा कालिकोटतिर ठूलो संख्यामा सलह मरेको जानकारी आएको उनले बताए।

‘अन्य ठाउँमा फाटफुट मरेको भन्नेछ, ती जिल्लामा भने धेरैको संख्यामा मरेका जानकारी आएको छ,’ हुमागाईंले भने।

उनकाअनुसार अब थोरै संख्यामा सलह नेपालमा छ। ती जंगलमा बसेका छन्। नेपालमा दैनिक पानी परेकोले ती पनि घट्दै जाने उनले बताए।

‘अहिले केही जङ्गलमा बसेको भन्ने जानकारी आएको छ, मनसुनको कारणले  त्यो पनि घट्दै जान्छ,’ उनले भने।

अहिले हावाको वहावको पूर्वानुमानअनुसार पूर्वी हावाको प्रभाव रहेकोले सलहकाे अरु झुण्डहरू नेपाल प्रवेश गर्ने सम्भावना न्यून रहेको केन्द्रले बताएको छ।

१३ गते बारा, पर्सा हुँदै पहिलो पटक सलह नेपाल प्रवेश गरेको थियो। ५ झुण्ड गरेर प्रवेश गरेको सलहको संख्या ७० देखि ८० लाख रहेको केन्द्रकाे अनुमान छ। १६ सय देखि १८ सय मिटर उचाईसम्म उड्न सक्ने सलह हावाको वेगसँगै टुक्रिएर ५२ जिल्लामा पुगेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*