मकवानपुरका एकै परिवारका दुइजनामा कोरोना पुष्टि, एकै दिन जिल्लामा सात जना संक्रमित थपिए
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडाको प्रयोगशालामा गरिएको परिक्षणमा श्रीमान र श्रीमती दुवैजनामा कोरोना संक्रमण देखापरेको हो ।
दुबइबाट भर्खरै घर आएका दुइजनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडाको आइसोलेसनका इन्चार्ज तथा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । उनीहरुलाई हेटौंडा ल्याउने तयारी भइरहेको छ ।
आजै ललितपुरमा गरिएको परिक्षणमा पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आजै मकवानपुर जिल्लाका कोरोना संक्रमित सात जना थपीएका हुन् । हेटौंडा र ललितपुरमा गरिएको परिक्षणमा सात जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।