बझाङ पहिरो : ६ जना मृत भेटिए, फेरि पहिरो खस्ने डर

जनपत्र
२१ असार २०७७, आईतवार १०:१९

बझाङ – शनिबार राती १ बजे केदारस्युँ गाउँपालिका–८ को मल्लेसीमा गएको पहिरोमा परेर एकै परिवारका चार सहित ६ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् ।

पहिरोले २० घर पूर्ण रुपमा बगाएको र दुई घरमा क्षति पुर्याएको छ । पहिरोका कारण अरु ४५ घर जोखिममा पर्नुका साथै गाउँका करिब चार सय जना पूर्ण रुपमा विस्थापित भएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहोराले बताउनुभयो ।

पहिरोमा पुरिएका ४१ वर्षीया राममती जेठारा, उहाँका ११ वर्षीया छोरा प्रयाग जेठारा र दुई छोरीहरु १६ वर्षिया शान्ति र ७ वर्षकी अस्मिताको शव फेला परेको छ । १५ वर्षीया सन्तू जेठाराको पनि शव भेटिएको छ । यस्तै ८० वर्षीय दले जेठाराको पनि ज्यान गएको छ । यस्तै गिरिजा जेठारा शनिबार साँझसम्म बेपत्ता भएकाले उहाँको खोजी भैरहेको छ । राममतीका श्रीमान कटे जेठारा भने रोजगारीका लागि भारतमा हुनुहुन्छ ।

जिल्ला सदरमुकाम चैनपुरबाट गएको डीएसपी गणेश बम सहितको नेपाल प्रहरीको टोली, डीएसपी गणेश शाहको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोली र कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ केदारस्युँकै बागथलाबाट खटिएको नेपाली सेनाको टोली र जिल्ला अस्पतालबाट डाक्टर सन्दिप ओखेडाको टोली तथा स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् ।

गाउँभन्दा करिब १ सय ५० मिटर माथि रहेको रातापड सामुदायिक वनबाट बीच गाउँमा पहिरो खसेको हो । सामुदायिक वनको बीचमा वर्षातमा मात्रै पानी आउने सानो मुहान छ । मुहानको पानी निकास हुने सानो खोल्सो गाउँको बीच भागबाट भएर बग्छ । त्यही खोल्सोमा डाँडाको टुप्पोबाट पहिरो खसेको र खोल्सोको निकास थुनिएर ड्याम बनेको हुन सक्ने स्थानीय जयबहामदुर जेठाराले बताउनुभयो ।

‘खोल्सोमा बनेको ड्याम एक्कासी फुटेपछि पहिरो आएको हो कि भन्ने अनुमान छ’, उहाँले भन्नुभयो, ‘सानै खोल्सो हो, त्यसरी पानी जम्मा भएर गाउँ नै बगाउला भनेर अनुमान गरेकै थिएनौं ।’

विस्थापितको बिचल्ली गाउँको मध्य भागमा पहिरो गएपछि फेरि पहिरो जान सक्ने डरले गाउँका कोही पनि आफ्नो घरमा बस्न सकिरहेका छैनन् । विस्थापित भएकाहरुलाई स्थानीय नवादेउ प्राथमिक विद्यालय र छिमेकी गाउँ घड्यानमा एक दिनको लागि व्यवस्थापन गरिएको वडाध्यक्ष गणेश बोहराले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयमा रहेकाहरुलाई सामुहिक रुपमा खानाको व्यवस्थापन गरिएको र घड्यान गाउँमा गएकाहरुलाई त्यहाँका स्थानीयले खाना र बासको व्यवस्था गरेको छ ।

पहिरो पीडितहरुका लागि भनेर नेपाली सेनाको हेलिकप्टरबाट आठ क्विन्टल चामल, ३७ वटा त्रिपाल र ४० वटा कम्मल घटनास्थलमा पुर्याइएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो । अझै थप राहत लिएर आइतबार जिल्ला प्रशासन कार्यालयको टोली मल्लेसी जाने उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*