मकवानपुरको चित्लाङ्गमा रहेको बाख्रा फार्मको स्तरउन्नती गरिदै

मकवानपुरमा कृषि औजार कारखाना स्थापना, पाउडर दूध प्लान्टको स्थापना, हेटौँडामा तरकारी फलफुल थोक बजार निर्माण कार्य गरिने तयारी छ ।
जनपत्र
२० असार २०७७, शनिबार १०:२२

हेटौंडा । बागमती प्रदेशको भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालयले मकवानपुर जिल्लाको थाहा नगरपालिका चित्लाङ्गमा रहेको बाख्रा विकास फार्मको स्तरउन्नती गर्ने भएको छ । आउँदो आर्थिक वर्षमा बजेट छुट्याउँदै बाख्रा फामलाई थप स्तरउन्नती गर्न लागिएको हो । यस फाममा साना जातका दूधालु बाख्रा विकासमा जोड दिन लागिएको प्रदेशको भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले वताउनुभयो ।

बाख्राको दूधबाट बनेको चिज उत्पादनमा टेवा पुर्याउने र आगामी दिनमा उक्त फार्मलाई एकिकृत फार्मको रुपमा स्थापित गर्न भेडापालन, खरायो पालन कार्यको शुरुवात गरिने उहाँले जानकारी दिनुभयो । यसैगरी प्रदेशको काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, सिन्धुली लगायतका जिल्लाहरुमा १ सय हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गरी यान्त्रीकरण सहितको बृहत्तर मत्स्य विकास तथा विस्तार कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था गरिएको उहाँले वताउनुभयो ।

कृषिमा डिप वोरिङ्ग, स्यालो बोरिङ्ग, लिफ्ट सिंचाइ, सोलार सिंचाइ कार्यक्रम सञ्चालन गरी सिंचित क्षेत्र विस्तार गर्दै कृषि उत्पादनमा वृद्धि गर्न गर्ने तयारी मन्त्रालयको रहेको छ । माछापालन गर्दा खपत हुने विद्युत महशुलमा ५० प्रतिशत छुट सुविधा उपलब्ध गराउने मन्त्रालयको तयारी रहेको छ ।

यसैगरी मकवानपुर जिल्लाको औद्योगिक क्षेत्र परिसरमा कृषि औजार कारखाना स्थापना, पाउडर दूध प्लान्टको स्थापना, हेटौँडामा तरकारी फलफुल थोक बजार निर्माण र चितवन जिल्लामा चक्लेट, क्याटवरी सहितको दूध प्रशोधन केन्द्र निर्माण कार्य गरिने तयारी छ । प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा सञ्चालनमा रहेका ६६ वटा नमुना कृषि फार्म र १० वटा एकिकृत मोडल फार्मको निरन्तरता तथा दिगो विकासका लागि काम गर्ने प्रदेश सरकारको तयारी छ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडसँगको पचास प्रतिशत साझेदारीमा चितवन जिल्लामा एक आधुनिक बहुउद्देश्यीय कृषि लिचि, कटहर, अम्वा, कागती, मेवा, केरा र तरकारीको नर्सरी निर्माणको काम गर्ने मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*