गण्डकी प्रदेशसभा लेखासमितिका सभापति खड्काले फिर्ता गरे सेवासुविधा
गण्डकी प्रदेशसभा लेखा समितिका सभापति कुमार खड्काले संसद् सचिवालयले दिएको सुविधा फिर्ता गर्ने घोषणा गरेका छन् । बिहीवार प्रदेशसभा बैठकमा पेश भएको गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितका पदाधिकारीको सुविधासम्बन्धी विधेयकको विरोधमा उनले सेवासुविधा फिर्ता गर्ने घोषणा गरेका हुन् ।
कोरोना संकटका बेला गण्डकी प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीको सेवासुविधा वृद्धि गर्न बहुमतको आडमा जबरजस्ती विधेयक अघि बढाएको भन्दै उनले समितिको सभापति भएबापत पाएको गाडी र चालक कम्तीमा असोजसम्मका लगि फिर्ता गर्ने उनले घोषणा गरेका छन् । यस्तै कोरोनाको प्रभाव कायम रहुन्जेलसम्म आफूलाई प्राप्त हुने बैठकभत्ता, सञ्चार सुविधा, निजी सचिवालय बन्दोबस्त, बिजुली, धारा, दैनिक भ्रमणभत्ता, यात्रा बिमा लगायत सुविधा नलिने घोषणा उनले गरेका छन् । खड्का कांग्रेसका तर्फबाट निर्वाचित प्रदेश सांसद हुन् ।