चुरेहिल हस्पिटलको मेडिकल निर्देशकको जिम्मेवारी डाक्टर जयराज शर्मालाई
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ मा सञ्चालनमा रहेको चुरेहिल हस्पिटल प्रालिको मेडिकल निर्देशकको जिम्मेवारी डाक्टर जयराज शर्मालाई प्रदान गरिएको छ । हस्पिटल संचालक समितिको असार ९ गतेको बैठकको निर्णयानुसार उहाँलाई जिम्मेवारी प्रदान गरिएको हो ।
हस्पिटलमा विगत १० महिनादेखि अर्थोपेडिक सर्जनको रुपमा कार्यरत डाक्टर जयराज शर्मालाई आज कार्यक्रमको आयोजना गरी जिम्मेवारी हस्तान्तरण गरिएको हो । हस्पिटल संचालक समितिका अध्यक्ष गोकर्ण प्रसाद पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै अध्यक्ष पराजुलीले हस्पिटललाई नयाँ दिशाबाट अघि बढाउन जरुरी भएकोले मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरिएको बताउनुभयो ।
मन्तव्य राख्नुहुँदै नवनियुक्त मेडिकल निर्देशक डाक्टर शर्माले हस्पिटलले प्रदान गरेको जिम्मेवारीलाई पूर्ण रुपमा वहन गर्ने बताउनुभयो । विरामीलाई गुणस्तरीय सेवा सुविधा प्रदान गर्न नयाँ नीति एवम् कार्य योजना बनाई अघि बढ्ने बताउनुहुँदै डा। शर्माले छिट्टै नै बालरोग र स्त्रीरोग सेवा पनि थप गर्दै अघि बढ्ने बताउनुभयो । संस्थागत अनुशासन कायम गर्दै हस्पिटलको आर्थिक स्थिति मजबुत बनाई क्षेत्र विस्तारमा पनि अघि बढ्ने उहाँले बताउनुभयो ।
हस्पिटलका सल्लाहकार तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले मकवानपुरवासीलाई अत्याधुनिक स्वास्थ्य सेवा सुविधा उपभोग गराउनकालागि चुरेहिल हस्पिटलको स्थापना गरिएकोले सुशासन कायम गरी थप सेवा विस्तारमा अघि बढ्न सुझाउनुभयो । समापन मन्तव्य राख्नुहुँदै संचालक समिति सदस्य देवेन्द्रध्वज कार्कीले हस्पिटलको गुणस्तरलाई अझै उच्च बनाउन सबैको सहयोग आवश्यक रहने बताउनुभयो ।
प्रशासकीय अधिकृत विवेक मानन्धरले संचालन गर्नुभएको कार्यक्रममा संचालक समिति सदस्य विश्वराज रिजाल, नारायण लाल श्रेष्ठ, टिकामान परियार, शेयर सदस्य मुरारी प्रसाद पुडासैनी, जीतबहादुर श्रेष्ठ, तेजबहादुर थापा, अर्जुन डंगोल, सल्लाहकार आनन्दराम पराजुली, प्रमोद सिंह रानाभाट, हस्पिटलमा कार्यरत चिकित्सकहरु, प्रशासनिक कर्मचारीहरु, विभिन्न वार्डका ईन्चार्जहरुलगायतको उपस्थिति रहेको थियो ।