सुरु भएको पाँचदिनमै सकियो कैलाश गाउँपालिकाको गाउँसभा
कैलाश– कैलाश गाउँपालिकाको गाउँसभामा पेस गरिएको नीति तथा कार्यक्रम स्वीकृतिसँगै योजना तर्जुमा र बजेट बिनियोजन कार्य सम्पन्न भएको छ । कैलाश गाउँपालिले आर्थिक बर्ष २०७७/७८ का लागि ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रुपियाँको बजेट तर्जुमा गरी पारित गरेको हो ।
असार १० गते सुरु भएको गाउँसभा असार १५ गतेका दिन भब्यताका साथ सम्पन्न गरिएको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम पारित भएपछि बिषयगत समितिहरुको बैठक, योजना तर्जुमा समितिको बैठक र कार्यपालिकाको बैठक बसेर गाउँसभामार्फत उल्लेखित समितिले दिएका सुझावहरुको कार्यान्वय गरी पारित गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो ।
मकवानपुरका ८ वटा गाउँपालिकामध्ये आगामी आर्थिक बर्षका लागि प्रस्तुत बजेट, नीति कार्यक्रम पारित गर्ने पहिलो गाउँपालिकाको रुपमा कैलाश गाउँपालिकाले नाम दर्ज गरेको छ । १० स्थानीय तहमध्ये यसअघि हेटौँडा उपमहानगरपालिकाले पनि नगर सभा सम्पन्न गरिसकेको जनाएको छ ।
चालू आर्थिक बर्ष २०७६/७७ का गाउँपालिकामा अघिल्लो आर्थिक बर्षमा पेस भएको नीति कार्यक्रम तथा बजेटमा विवाद भएपछि बहुमतका आधारमा पारित गरिएको थियो । तर, यसबर्ष सर्बसम्मत रुपमा बजेट तथा नीति कार्यक्रम पारित भएको अध्यक्ष मुक्तान बताउनुहुन्छ । कानूनी प्रावधान अनुसार असार १० गते गाउँसभा सुरु भई असार मसान्तसम्ममा अधिवेसन चलाएर समापन गर्नुपर्दछ ।
गएको जेठ १५ गते सोलार सिस्टममा आगलागी भई गाउँपालिकाको प्रशासनिक भवन जलेर नष्ट भएपछि विद्यालयमा कार्यालय सञ्चालन गरिएको अबस्था छ । नीति कार्यक्रम तथा बजेट पारित भएपछि अब नयाँ आर्थिक बर्षको सुरुदेखि नै धमाधम काम सुचारु हुने अध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।