स्वास्थ्य मन्त्रालयकाे मापदण्ड पालना गर्नेहरु अब काठमाण्डाै भित्रन पाउने
काठमाण्डौ – कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वरेण्टीनमा बस्ने प्रतिबद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वरेण्टीनमा बस्ने गरी पालिका र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय सीसीएमसीले गरेको हो ।
हवाई तथा स्थलमार्गबाट आउने सबैमा यो निर्णय लागू हुने उहाँले बताउनुभयो । सीसीएमसीले क्वरेण्टीनमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ । यस्तै विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ ।
आमा र बच्चा नेपाली नागरिकताधारी र बुवा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजीकरणका लागि निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरिएको छ ।