नेकपा बैठकमा बामदेवको माग : मलाई कारबाही गरेर गल्ती गरेको स्वीकार गरियोस्
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफूलाई न्याय दिन पार्टी नेतृत्वसामू माग गरेका छन् ।यसका लागि महाकाली सन्धिलाई लिएर आफूमाथि कारबाही गर्नु गल्ती थियो भनेर पार्टी भन्नुपर्ने उनको माग छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गौतमले भारतसँग महाकाली सन्धि गर्ने क्रममा आफूहरुले महाकाली नदीको मुहान लिम्पियाधुरा हो भनेर प्रष्ट पार्नुपर्छ भन्दा कारबाही गरेको र त्यही कारण पार्टी फुटेको स्मरण गरे । उनले भने, त्यसबेला मलाई कारबाही गरेर गल्ती गरेको भनेर पार्टी न्याय दिओस् ।’
बैठकमा गौतमसहित २१ नेताले बोलेका थिए । सबैले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्नु ऐतिहासिक भएको बताएका छन् । साथै अब कूटनीतिक सम्वादमार्फत अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् ।
तर मणि थापा र टोपबहादुर रायमाझीले भने अतिक्रमित भूमि नछाडे भारतसँग लड्नुपर्ने धारणा राखेको एक स्थायी कमिटी सदस्यले अनलाइाखबरलाई बताएका छन् ।
स्थायी कमिटीको अर्को बैठक १६ गते बस्नेछ । कसीमा विवादबारे समिक्षापछि कोभिड-१९ नियन्त्रण र रोकथाममा सरकारको भूमिकाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । त्यसपछि अरु एजेण्डामा पनि गम्भीरतापूर्वक छलफल हुन्छ’ उनले भने ।