साेती घटना : वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षकाे लागि थुनामा पठाउन आदेश
रुकुम पश्चिमको सोती घटनाका आरोपीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ ।आज थुनछेक बहस सकिएपछि वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षको लागि कारागारमा पठाउन आदेश दिएको जिल्ला अदालत रुकुमले जनाएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।
सोती घटनामा २९ जना पक्राउ परेकोमा अदालतले दुई जनालाई गएको सोमबार नै सुधार गृहमा पठाउन आदेश दिएको थियो भने तीन जनालाई तारेखमा र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । घटनामा ३४ जनाविरुद्ध किटानी जाहेरी परेकोमा पाँच जना फरार रहेका छन् ।
गएको जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो । उज्यालोबाट