मकवानपुरको बकैया गाउँपालिकाको बजेट ६५ करोड १९ लाख
मकवानपुर/ मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । ‘समृद्ध बकैया निर्माणको मूल आधारः स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधार’ भन्ने मूल नाराका साथ आज बुधबार भएको गाउँपालिकाको छैठौं गाउँ सभामा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको हो ।
बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा सञ्चालित सभामा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइुन् । प्रस्तुत बजेटमा नेपाल सरकारबाट ५० करोड १० लाख २२ हजार २३० रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८ करोड २६ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ । त्यस्तै आन्तरिक आयस्रोत ६ करोड ८२ लाख ६० हजार हुने अनुमानसहित कूल ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको बजेट पेश गरिएको उपाध्यक्ष बोलखेले जानकारी दिएकी हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३ करोड ३२ लाख ६० हजार रुपैयाँ राजश्व आय प्रक्षेपण गरेको छ, भने चालु आर्थिक वर्षको ३ करोड ५० लाख रुपैयाँ नगद मौज्दात रहने अनुमान प्रस्तावित बजेटमा छ ।
संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा राजश्व बाँडफाँड, आन्तरिक आय र चालु आर्थिक वर्षको मौज्दात समेत गरी जम्मा ३३ करोड ८४ लाख ८६ हजार २ सय ३० रकम मध्ये संचालन खर्चतर्फ ७ करोड र विकास बजेटतर्फ २६ करोड ८४ लाख ६८ हजार २ सय ३० रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय र प्रदेश सरकारबाट गरी सशर्त अनुदानतर्फ प्राप्त २८ करोड ३५ लाख १८ हजार रुपैयाँ रकमलाई सम्बन्धित तहबाट नै तय भई आए बमोजिम खर्च गरिने छ । साथै प्रदेश सरकाबाट प्राप्त २ करोड ९९ लाख ८३ हजार रुपैयाँ समपुरक अनुदानलाई प्रदेश सरकारसँगको सहकार्यमा योजनाहरु सञ्चालन गरिने उल्लेख छ ।
संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण, राजश्व बाँडफाँड, वार्षिक अनुमानित राजस्व आय र गत वर्षको मौज्दात गरी कुल रकमको करिब २१ प्रतिशत अर्थात् ७ करोड रुपैयाँ बजेट संचालन खर्चतर्फ विनियोजन गरिएको छ । यस्तै, विकास बजेटतर्फ करिब ७९ प्रतिशत अर्थात २६ करोड ८४ लाख ६८ हजार २ सय २० रुपैयाँ विनियोजन गरिएको हो ।
विकास बजेटतर्फ छुट्याइएको रकममध्ये वडागत सिलिङको आधारमा ६ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ । यस्तै, वडा समितिको कार्यालयद्वारा सिफारीस भई आएका एवम् गाउँ कार्यपालिका र विभिन्न समितिहरुले आवश्यकता पहिचान गरेका भवन निर्माण, ठुला सडक आयोजना विषयगत शाखाका कार्यक्रम गाउँपालिकाको संस्थागत विकास लगायतका विभिन्न आयोजना तथा कार्यक्रमहरुका लागि २० करोड ५४ लाख ६८ हजार २ सय ३० रुपैयाँ बजेट विनियोजन भएको छ ।
प्रस्तावित बजेट आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तथा समपुरक कोष अन्तर्गत हुने गरी विनियोजन गरिने नीति, कार्यक्रम तथा बजेटमा उल्लेख छ । प्रस्तावित कार्यक्रमबारे बजेट तथा कार्यक्रम तर्जुमा समितिले थप छलफल गरी बजेट विनियोजन गरिने पनि जानकारी दिइएको छ ।
प्रस्तावित नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै गाउँ कार्यपालिका सदस्यहरु लक्ष्मीमाया माझी, बीरमान बल, गोपाल न्यासुर र राजन दंगालले सबै पक्ष मिलेर कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नीति, कार्यक्रम तथा बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै वक्ताहरुले कार्यान्वयन गर्न सफल भए बकैया समृद्ध हुने विश्वास व्यक्त गरे ।
जनप्रतिनिधि, कर्मचारी, प्रहरी तथा सरोकारवालाहरुको उपस्थितिमा छैठौं गाउँ सभा सम्पन्न भएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यान दिँदै सहभागीहरुबीच दुरी कायम गरी सभा सञ्चालन गरिएको थियो ।