एक महिनाको घरभाडा नलिए महानगरबाट बहाल कर छुट
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड-१९)को प्रभावले घर भाडामा बस्ने नगरवासीहरुलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीलाई वार्षिक बहाल करमा छुट दिने घोषणा गरेको छ । घरभाडा छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बाषिर्क बहाल करमा दश प्रतिशत छुट गर्ने भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाएबापतको बहालकर छुट नलिई चुक्ता गरिसकेका करदाताको हकमा समेत कोभिड-१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक वर्ष २०७७/७८ मा बुझाउनुपर्ने वार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिने महानगरपालिकाको आर्थिक विधेयकमा उल्लेख छ ।
होटेल पर्यटन क्षेत्रलाई सहुलियत
काठमाडौं महानगरपालिले कोभिड-१९ को प्रभावका कारण व्यवसायमा परेको प्रभाव न्यूनीकरणका लागि विशेष घोषणा गरेको छ । यसअन्तर्गत मूख्य प्राथमिकता होटेल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई दिइएको छ ।
महानगरले असुल गर्ने करमध्ये असुल हुन बाँकी रहेको चालु आर्थिक वर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा महानगरले शतप्रतिशते छुटको घोषणा गरेको छ ।
कोभिड-१९ का कारण महानगरवासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरे यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा समेत दश प्रतिशत छुट दिने गरी बजेट ल्याएको छ ।
महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले बुधबार प्रस्तुत गरेको बजेट अनुसार घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा भने त्यस्तो छुट दिइने छैन । सर्वसाधारणहरुको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्पत्ति कर छुट हुने भएको छ ।