आइसोलेसन र क्वारेन्टिनमा बसेकाहरूलाई होमियोप्याथिक सेवन गराइँदै
रोग प्रतिरोधात्मक क्षमता बढाउन रोल्पाका आइसोलेसन र क्वारेन्टिनमा बसेकाहरूलाई होमियोप्याथिक औषधि सेवन गराइने भएको छ । पहिलो चरणमा कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका र भारतबाट आएर क्वारेन्टिनमा बसेका करीब २ हजार जनालाई होमियोप्याथिक औषधि सेवन गराउन लागिएको हो ।
मारवाडी सेवा समिति नेपालले निःशुल्क दिएको उक्त औषधि बुटवल उद्योग वाणिज्य संघको सहजीकरण तथा रोल्पा उद्योग वाणिज्य संघको व्यवस्थापनामा रोल्पामा आइपुगेको छ । उक्त औषधिसम्बन्धी जानकारी दिने उद्देश्यले मंगलवार लिबाङमा जिल्लास्थित सरोकारवालाहरूसँग छलफल समेत गरिएको छ । छलफलपछि उक्त औषधिलाई सबै आइसोलेसन तथा क्वारेन्टिनमा बसेकाहरूलाई सेवन गराइने भएको हो ।
सोही अवसरमा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढालाई उक्त औषधि हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख बुढाले होमियोप्याथिक औषधिले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी कोरोनालाई जित्न मद्दत पु¥याउने विश्वास व्यक्त गरे । विश्वमा नै कोरोना भाइरसको विरुद्धमा कुनै पनि औषधि पत्ता नलागेको अवस्थामा होमियोप्याथिक औषधिले केही राहत दिने उनको अपेक्षा छ ।
रोल्पामा हालसम्म ४४ जनामा कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा छन् भने करीब २ हजार जना क्वारेन्टिनमा बसेका छन् । होमियोप्याथिक औषधिले उनीहरूको रोग प्रतिरोधात्मक क्षमता र आत्मबल वृद्धि गर्ने अपेक्षा गरिएको छ ।