छोरी जन्मिए १० हजार रुपैयाँ

जनपत्र
९ असार २०७७, मंगलवार ०७:३०

जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उहाँको घर दैलोमा पुग्नुभयो । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताउनुभयो ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष आएर सबै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने, बच्चाको स्याहारसुसारका विषयमा कुरा गर्नुभएको उहाँले बताउनुभयो । सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यलाई जानकारी दिनुभएको समेत शाहीले बताउनुभयो ।

“सबैलाई सम्झाइबुझाइ गरेर कुखुरा किनेर खानु भनी एक हजार ५ सय रुपैयाँ, स्थानीय तोरीको तेलका लागि ५ सय रुपैयाँ र बच्चाको कपडा किन्नका लागि ५ सय रुपैयाँ दिनुभयो”, शाहीले भन्नुभयो । आफ्नोजस्तो निम्न अवस्था भएका परिवारका लागि यो सहयोग असाध्य राम्रो भएको भन्दै शाहीले थप्नुभयो, “मैले छोरीको जन्म दिएकै कारण थप १० हजार रुपैयाँसमेत पाएकी छु ।”

उहाँजस्तै गाउँपालिकाभित्र सुरक्षितरुपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर कम भएपछि गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कार्यक्रम राखेर सुत्केरी खोज्दै कावा अध्यक्ष आचार्य घरघरमा पुगिरहनुभएको छ । उहाँ सुत्केरीको घरमा पुगेर विभिन्न शीर्षकमा रहको दुई हजार ५ सय रुपैयाँ दिँदै अब अर्को पटक सुत्केरी भएमा स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुनसमेत आग्रह गरिरहनुभएको छ । उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*