उपत्यकामा कोरोनाको जोखिम बढ्यो, परीक्षण चाँहि घट्यो
सरकारले कोभिड–१९ को नयाँ निर्देशिका जारी गरेपछि उपत्यकामा परीक्षणको दायरा घटेको छ । लक्षणबिना कुनै पनि व्यक्तिको परीक्षण नगरिने मापदण्ड उल्लेख गरिएको नयाँ निर्देशिका बनेपछि दायरा घटेको हो । विज्ञहरूले बढीभन्दा बढी परीक्षण गरेर संक्रमितलाई आइसोलेसनमा राख्दै समुदायमा संक्रमण फैलन दिन नहुने सुझाव दिए पनि त्यो लागू हुन सकेको छैन ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि दैनिक एक हजार जना पुगिरहेका हुन्छन् । तर मुस्किलले डेढ सय जनाको मात्रै स्वाब संकलन गर्ने गरिएको अस्पताल निर्देशक डा। सागरकुमार राजभण्डारीले बताए ।‘परीक्षणका लागि आउने अधिकांश मानिसहरू उपत्यका बाहिरका जिल्लाबाट छिरेका हुन्छन्,’ उनले भने, ‘धेरै त संक्रमण फैलिएको जिल्लाबाट आइरहेका नै छन् तर निर्देशिकाअनुसार हामीले लक्षणबिना परीक्षण गर्ने गरेका छैनौं ।’ उनका अनुसार परीक्षण रिपोर्ट बिना घरबेटीले घरमा छिर्न दिएनन्, काममा फर्किन सकिएन भनेर जिद्दी गर्नेलाई अस्पतालले आरडीटी परीक्षण गरेर पठाउने गरेको छ ।
यस्तो अभ्यासले भोलि समुदायमा व्यापक संक्रमण फैलिन सक्ने जोखिम हुने जनस्वास्थ्यविद् डा। समीर दीक्षित बताउँछन् । ‘सरकारसँग धेरै परीक्षण गर्ने क्षमता छैन भने निजी प्रगोगशालालाई जिम्मेवारी दिएर भए पनि दायरा बढाउनैपर्छ,’ उनले भने, ‘उपत्यकामा जहाँसुकैबाट संक्रमित छिरिरहेकाले पछि यही ठाउँ कोरोनाको ठूलो हब हुन सक्छ ।’ उपत्यका जस्तो केन्द्रमा परीक्षणको दायरा खुम्च्याउन नहुने उनको भनाइ छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशैभरिबाट दैनिक दुई हजारदेखि पाँच हजारसम्म स्वाबको नमुना संकलन भएर आउँछ । तर काठमाडौं उपत्यकामा संकलन भएको स्वाबको नमुनाको संख्या न्यून हुने प्रयोगशालाकी निर्देशक डा। रुणा झाले बताइन् । ‘दैनिक १२ सयसम्म पीसीआर परीक्षण हुन्छ, त्यसमा उपत्यकाको धेरैमा २ सय जति स्वाब हुन्छ,’ उनले भनिन्,
‘उपत्यकामा परीक्षण बढ्न सकेको छैन ।’ पाटन अस्पतालमा दैनिक ८० देखि एक सय नमुनाको मात्र पीसीआर परीक्षण हुने गरेको छ । आधाभन्दा बढी परीक्षण उपत्यका बाहिरकै व्यक्तिको हुने गरेको अस्पतालका निर्देशक डा। विष्णुप्रसाद शर्माले बताए । ‘पछिल्लो समय विदेशबाट फर्किएका नागरिकको पीसीआर परीक्षण बढी भयो,’ उनले भने, ‘अन्य समयमा पनि उपत्यका बाहिरबाट उपचार गर्न आएका बिरामाीको परीक्षण नै बढी हुने गरेको थियो ।’
यसबाहेक शंकास्पद भएर पाटन अस्पताल भर्ना भएका र उपत्यकाकै क्वारेन्टाइन र आइसोलेसनमा बसेका व्यक्तिको परीक्षण हुने गरेको छ । वीर अस्पतालमा पनि उपत्यकाभन्दा बाहिरकै व्यक्तिको परीक्षण धेरै हुने गरेको छ । बाहिरी जिल्लाबाट आएर अस्पतालमा भर्ना भएका, शल्यक्रिया गर्नुपर्ने खालका बिरामीको बढी परीक्षण हुने अस्पतालका निर्देशक डा। केदारप्रसाद सेञ्चुरीले बताए । ‘वीरमा आएका बिरामी र नजिकका अस्पतालमा उपचार सेवा लिइरहेका बिरामीको पीसीआर परीक्षण हामी गर्छौं,’ उनले भने, ‘उनीहरूको हिस्ट्री हेर्दा अधिकांश केस बाहिरी जिल्लाकै देखिन्छ ।’
उपत्यकाका संक्रमण नै कम भएकाले परीक्षण न्यून देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको तर्क छ । ‘परीक्षण मात्रै गर्दा राज्यले खर्च धान्न नसक्ने अवस्थामा पुगिन्छ,’ उनले भने, ‘बिरामीको सम्पर्कमा आएका र रोगको लक्षण भएकाको त परीक्षण भएकै छ ।’ देशभर हालसम्म करिब २ लाख पीसीआर परीक्षण भइसकेको उनले जनाए । सर्वससाधारणले परीक्षण बढेन भनेर विरोध गर्नुभन्दा कोभिड–१९ सँग बच्न सावधानी अपनाउनुपर्ने उनले बताए ।नयापेजबाट