सुदूरपश्चिममा कोरोना : संक्रमण तीब्र, परीक्षण सुस्त

जनपत्र
७ असार २०७७, आईतवार ०९:२९

कैलाली । सुदूरपश्चिम प्रदेशमा चैत मसान्तसम्म तीव्र गतिमा कोरोना संक्रमण बढेको थियो । चैत २२ गतेसम्म नेपालमा ९ जना संक्रमित भेटिएका थिए । तीमध्ये ४ जना संक्रमित सुदूरपश्चिमकै थिए । बैशाख १ गते कैलालीमा थप एक जनामा संक्रमण देखियो ।

चैत मसान्तसम्म तीव्र रुपमा बढेको संक्रमण त्यसपछि एक महिना बढी समय शून्य जस्तै भयो । फेरि पछिल्लो एक महिनामा भने सुदूरपश्चिममा कोरोना संक्रमणको दर तीव्र बनेको छ ।

शनिबारसम्म प्रदेशका ९४८ जना कोरोना संक्रमण पुष्टि भइसकेको छ । कैलालीमा २२९, डडेल्धुरामा १७१, बैतडीमा १४०, डोटीमा १३३, कंचनपुरमा ९६, अछाममा ७६, बाजुरामा ७०, बझाङमा २१ र दार्चुलामा १२ जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रदेशमा मृत्यु भएका ५ जनामा समेत कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये बाजुराकी ३ वर्षीया बलिका र कैलाली गोदावरीका ४६ वर्षीय पुरुषको कोरोना संक्रमण बाटै मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मृत्यु पछि संक्रमण पुष्टि भएका धनगढीकी ५५ वर्षीया महिलामा मिर्गौलासम्बन्धी समस्या र लम्कीचुहाकी ४३ वर्षीया महिलामा टाउकोको समस्या रहेको स्वास्थ निर्देशक गुणराज अवस्थीले बताए ।

एक साता पहिलो बाजुरामा आत्महत्या गरेका ५५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको थियो ।

परीक्षण सुस्त

बिगतमा एक जना मात्रै संक्रमित देखिएको कैलालीको घोडाघोडी नगरपालिकामा शक्रबार एकैदिन २० जना संक्रमित फेला परे । उनीहरु सबै १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए ।

पीसीआर रिपोर्ट आउनुभन्दा पहिले नै घर पुगेकाहरुबाट समुदायमा पनि त्रास फैलिएको छ । ती २० जनाले कैलालीको घोडाघोडीमा १० दिन पहिले क्वारिन्टन व्यवस्थापन नभएको भन्दै आन्दोलन गरेका थिए । त्यो बेला उनीहरु थप केहीको सम्पर्कमा आएको बुझिएको छ ।

यो त एउटा उदाहरण मात्रै हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा पीसीआर परीक्षणमा ढिलाइ हुँदा थुप्रै व्यक्तिहरु घर फर्किएका छन् । तीमध्ये केहीमा संक्रमण पुष्टि भइसकेको छ ।

सुदूरपश्चिममा शनिबार मात्रै एक सय ६३ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको एक मात्र पीसीआर ल्याबमा परीक्षण सम्भव नभएपछि स्वाबका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ती नमुनामध्ये ९२ जनामा संक्रमण पुष्टि भयो । शनिबार नै धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ६९ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको थियो ।

शनिबार एकै दिन कैलालीमा २७ जना, डडेल्धुरामा ३९ जना, बैतडीमा २० जना र सबैभन्दा धेरै डोटीमा ७२ जना संक्रमित थपिएका छन् । सुदूरपश्चिमका जिल्लामा तीव्र गतिमा संक्रमित बढिरहे पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन ।

कुनै ट्राभल हिष्ट्री नभएकाहरुमा समेत संक्रमण देखिन थालेको छ । त्यसमा पनि संक्रमित वा मृतकसँग सम्पर्कमा आएकाहरु सबैको परीक्षण हुन सकेको छैन ।

शनिबारसम्म सुदूरपश्चिम प्रदेशमा १५ हजार ९६८ जनाको स्वाब संकलन गरिए पनि १० हजार ४७३ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । तीमध्ये ९४८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले ५ हजार ४९५ जनाको थ्रोट स्वाव परीक्षण गर्न बाँकी रहेको बताए ।

सुदूरपश्चिम प्रदेशमा पीसीआर परीक्षणको दायरा साँघुरो हुँदा पनि अझै कति संक्रमित छन् भन्नेबारे एकिन विवरण आउन नसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘यहाँ एउटा मात्रै उकरण छ । जहाँ दैनिक २५० जनाको मात्रै परीक्षण हुन्छ,’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘त्यति थोरैको स्वाब परीक्षण गरेर प्रदेश भरिका संक्रमित पत्ता लगाउन कठिन छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*