पर्वत : ५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि ८१ जनाको स्वाब सङ्कलन, जिल्ला अस्पताल क्षेत्र सिल गरियो
पर्वत – पर्वतमा कोरोना सङ्क्रमितको उपचारका लागि खटिएका २ जना डाक्टरसहित ५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि ८१ जनाको स्वाब सङ्कलन गरिएको छ ।
उहाँका अनुसार ८१ जनाको स्वाब सङ्कलन गरी पोखरा प्रयोगशालामा पठाइएको हो । सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि पर्वत अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा शुक्रबार बिहानैदेखि बन्द गरिएको छ । पर्वत जिल्ला अस्पताल सञ्चालित क्षेत्र सिल गरिएको भण्डारीले जानकारी दिनुभयो ।
स्रोतका अनुसार कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीहरुले पर्वत जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई समेत सेवा प्रवाह गरेको बुझिएको छ । परीक्षणका लागि पठाइएको रिपोर्टको नतिजा नआउँदै स्वास्थ्यकर्मीहरु असार २ गतेदेखि ४ गते साँझसम्म नियमित ड्युटीमा रहेको स्रोतले जनाएको छ । स्वास्थ्यकर्मीहरु असार ४ गते राती कोरोना पोजेटिभ भएको जानकारी पाएपछि मात्रै ड्युटीबाट बाहिरिएको जानकारी प्राप्त भएको छ ।
कुश्मा बजार क्षेत्रका अत्यावश्यक बाहेकका सेवा बन्द गर्न आह्वान
पर्वत उद्योग वाणिज्य सङ्घले कोरोना भाइरस समुदायमा फैलिन सक्ने त्रासले अत्यावश्यक बाहेकका सबै उद्योग व्यवसाय बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।
सङ्घका अध्यक्ष केदारनाथ शर्माले विज्ञप्ति निकालेर कोरोना भाइरसको सङ्क्रमण समुदायमा समेत आउन सक्ने खतरालाई मध्यनजर गर्दै व्यवसाय बन्द गर्न आग्रह गर्नुभएको हो ।
पर्वतमा पाँच जना स्वास्थ्यकर्मीसहित अहिलेसम्म ४३ जना सङ्क्रमित पुगेका छन् भने ८ जना निको भएर घर फर्किएका छन् ।






