मकवानपुरको मनहरीका ६ जनामा कोरोना पुष्टि
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भारतबाट आएका छ जनामै कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई हेटौंडा ल्याइदैछ ।
आज हेटौंडाको प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा मनहरीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले वताएका छन् । भारतबाट आएका ती ६ जनाको स्वाव कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।
बिदेशबाट फर्कनेहरुलाई क्वोन्टाइनमा राख्ने गरीएको र हिजो रिपोर्ट आएकाहरुमा नेगेटिभ आएपनि आज प्राप्त रिपोर्टमा भने ६ जनामा कोरोना संक्रमण देखापरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।
कोरोना पोजेटिभ देखिएकाहरुलाई श्रमिक माद्यमिक विद्यालयको आइसोलेशनमा ल्याउने तयारी भइरहेको छ ।
मनहरी गाउँपालिकामा २ वटा क्वारेन्टाइनमा संचालनमा छ । मनहरी वडा नं ३ लामिटार र वडा नं ७ बिजौना रमनटारमा क्वारेन्टाइन संचालन भइरहेको छ ।
बिजौनामा रहेकाहरुको पीसीआर परिक्षण गर्दा सबै जनाको नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको थियो ।
लामिटार क्वारेन्टाइनमा रहेकाहरुको पीसीआर रिपोर्ट आउन बाँकी थियो ।