जिसस मकवानपुरको बोर्ड बैठक, मनहरीको ५ वटा वडाकार्यालयको भवनका लागि एक करोड

जनपत्र
५ असार २०७७, शुक्रबार ०७:०६

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ६३ औं बोर्ड बैठक बिहीबार सम्पन्न भएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बोर्डको ६३ औं बैठक बसेको हो ।

बैठकमा कोभिड–१९ का सन्दर्भमा जिससबाट भएगरेका कामका बारेमा समिक्षा गर्नुका साथै अन्य विभिन्न निर्णय गरेको छ । बैठकमा जिसस प्रमुख खुलालले कोभिड–१९ का सन्र्दभमा जिससले संचालन गरेको होल्डिङ स्टेसनका बारेमा जानकारी दिनुभएको थियो । स्थानिय तह तथा विभिन्न संघसंस्थाको सहयोग र सहकार्यमा जिससले व्यवस्थापन गर्ने गरि होल्डिङ स्टेसन संचालन भएको उहाँले जानकारी दिनुभयो ।

साथै हालसम्म होल्डिङ स्टेसनमा बाहिरबाट जिल्लाका विभिन्न स्थानिय तहमा आएका नागरिकहरुहरुलाई सेवा प्रदान गरिएको जानकारी दिनुभएको थियो । हालसम्म कुवेत र ओमानवाट आएका तीन लटका नागरिकलाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । यसका साथै बैठकले जिससका सम्पुर्ण पदाधिकारी एवम् कर्मचारीलगायत सबैको कोभिड बीमा गर्ने निर्णय समेत गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।

यसका साथै बैठकले मौजदात कोषको रकमबाट मनहरी गाउँपालिकाको विभिन्न वडा कार्यालय भवन निर्माणका लागि रकम प्रदान गर्ने निर्णय गरिएको छ । बैठकले जिससको मौजदात कोषबाट गाउँपालिकाको ५ वटा वडाकार्यालयको प्रशासनिक भवन निर्माणका लागि एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै स्थानिय तहहरुको नदिजन्य पदार्थको वातावरणिय प्रभाव परिक्षण पुनरावलोकन तथा सिफारीस समिति गठन गरेको छ । जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरलेको संयोजक्त्व रहने गरि ७ सदस्य समिति गठन गरिएको प्रमुख खुलालले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले जिल्ला स्थित स्थानिय तहहरुलाई आगामी वर्षको निति कार्यक्रम तथा बजेट निर्माण गर्दा ध्यान दिने विषयहरुका बारेमा सुझाव दिने निर्णय गरेको छ । बैठकले आगामी वर्षको बजेट निर्माण गर्दा कोभिड–१९ महामारीलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले आगामी वर्षको बजेटमा विकास निर्माणसंगै रोजगार, स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक, बालवालीकाको क्षेत्रलाई ध्यान दिएर निर्माण गर्न सुझाव दिने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले बजेटमा सहयोगापेक्षि सडक मानव मुक्तका लागि, स्थानिय तह शहिद स्मृती राष्ट्रिय फुटबल प्रतियोगिताका लागि, बालमैत्री स्थािनयतह निर्माणकालागि बजेटको व्यवस्था गर्न सुझाव दिने निर्णय गरेको उहाँले बताउनुभयो । साथै सुचना तथा संचारको क्षेत्रमा सामुदायिक रेडियोसंग साझेदारी गर्न सुझाव दिने समेत निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यस्तै आजको बैठकले गैरसरकारी संस्थाहरुको समन्वय एवम् नियमनका लागि आगामी बैठकमा पेश गर्ने गरि कार्यविधि तयार पार्ने निर्णय गर्नुका साथै थाहा नगरपालिकाको जनकल्यान माविको ठेक्का अवधिका बारेमा निर्णय गरेको छ । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत जिससका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*