हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने
हेटौंडा । बागमती प्रदेश सरकारले मकवानपुरको हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ काम गर्ने भएको छ ।
हेटौंडामा ठुलो र गुणस्तरिय अस्पतालको अभाव भइरहेको समयमा यहाँको स्वास्थ्यमा जोड दिदै प्रतिष्ठानका रुपमा विकास गर्दै संस्थागत तथा संरचनागत व्यवस्था र शैक्षिक कार्यक्रम सुरुवात गर्न आवश्यक बजेटको व्यवस्था गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो । यसको काम सामाजिक विकास मन्त्रालयबाट गरिने छ ।
यसैगरी प्रदेश सरकारले भक्तपुर, सिन्धुली र त्रिशुली अस्पताललाई एक सय शैया क्षमताको विशिष्टीकृत सेवा सहितको अस्पताल, धादिङ र चौतारा अस्पताललाई ५० शैया क्षमताको अस्पताल, रामेछाप र रसुवा अस्पताललाई २५ शैया क्षमताको अस्पतालमा स्तरोन्नति गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको उहाँले वताउनुभयो ।
अस्पतालहरुमा कोभिड÷१९ को नियन्त्रण र उपचारका लागि औजार उपकरण व्यवस्था र अस्पतालको स्तरोन्नति तथा सुदृढीकरण गर्न १२ करोड रुपैयाँ बजेटमा विनियोजन गरेको उहाँले वताउनुभयो । प्रदेश सरकारले सामुदायिक अस्पतालहरुको पूँजीगत सुधारका लागि समेत आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ।