सुर्खेतमा आत्महत्या गरेकी युवतीमा कोरोना संक्रमण, झुन्डिएर आत्महत्या गरेका पुरूषमा पनि कोरोना

जनपत्र
३ असार २०७७, बुधबार २१:०१

सुर्खेत । सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका-८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो ।

असार १ गते आत्महत्या गरेकी उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

युवती गत जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् । क्वारेन्टिनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । त्यसपछि होम क्वारेन्टिनमा बस्ने गरी पठाइएको उनले बताए ।

यो कर्णालीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ पुगेको छ । युवतीको  शव मेहलकुना अस्पतालमा नै राखिएको छ । उनको शव व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।

झुन्डिएर आत्महत्या गरेका अर्घाखाँची शितगंगा ५ गल्दा चित्रे बारीका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। शितगंगा(५ गल्दा हरि माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा बसेका ती पुरुषले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ। यसअघि बाँकेमा कोरोना संक्रमणबाट एकजना पुरुषकै ज्यान गएको थियो। आरडिटी पोजेटिभ देखिएका उनीसहित तीनजना साथीहरू क्‍वारेन्टाइनमा बस्दै आएका थिए।

रातिको समयमा सँगै सुतेका साथीहरूलाई थाहै नदिइ उनले स्कुलको पूर्वतर्फको रुखमा आफूले बिछाउँदै आएको तन्ना च्यातेर आत्महत्या गरेका थिए। उनी जेठ १० गते भारतबाट आएर स्थानीय तहले बनाएको क्‍वारेन्टाइनमा बसेको १४ दिनपछि आरडिटी परीक्षण गरिएको थियो। उनको आरडिटीमा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाबको नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । तर मृतकको पिसिआर रिपोर्ट नआएपछि शवलाई ब्यवस्थापन गर्न कठिन भएको थियो ।

ती पुरुषले आत्महत्या गरेपछि पिसिआर रिपोर्ट नआउँदासम्म शवलाई दिनभर प्रहरी, सेना र स्थानीयले कुरेर बसेका थिए। ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक बाबुराम बस्नेत नेतृत्वमा खटिएको प्रहरीको टोली र रामवाण गुल्म ठाडाका गुल्मपति ईश्वर काफ्लेको नेतृत्वको सेनाको टोलीले शव तारेपैरो फूलबारी सामुदायिक वनमा व्यवस्थापन गरेका छन्। मृतक पुरुषसहित अर्घाखाँचीमा बुधबार ५२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या १११ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*