बागमती प्रदेश सरकारले थप पीसीआर ल्याब संचालन गर्ने, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

प्रदेश मातहतका अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकासका लागि ५६ करोड ३० लाख, मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमलाई परिमार्जन
जनपत्र
२ असार २०७७, मंगलवार ०८:५८

हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) को जाँच गर्नका लागि थप पीसीआर ल्याब संचालन गर्नेगरी बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कोरोना ल्याब थप गर्नेगरी बजेट ल्याएको हो ।

कोरोना लगायतका संक्रामक तथा अन्य रोगहरुको रोकथाम, नियन्त्रण र उपचारका कार्यहरुलाई प्रभावकारी बनाई गुणस्तरीय स्वास्थ्य सेवा अनुभूति हुने गरी सर्वसुलभ पहुँचको सुनिश्चितता गर्न सार्वजनिक स्वास्थ्य प्रणालीमा सुधार गर्नुपर्ने गरी बजेट ल्याइएको आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

प्रभावकारी र विश्वसनीय सार्वजनिक स्वास्थ्य सेवा प्रणाली स्थापना गर्न प्रविधि एवम् उपकरण, भौतिक पूर्वाधार विकास, औषधीको व्यवस्था र दक्ष जनशक्ति व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता दिई स्वास्थ्य क्षेत्रमा सुधार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । कोभिड १९ को संक्रमणलाई यथाशिघ्र रोकथाम र नियन्त्रण गर्न मापदण्ड अनुसार परीक्षणको दायरा वृद्धि, थप पीसीआर ल्याब संचालन गरिने भएको छ । केस इन्भेस्टिगेसन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको व्यवस्थापन गर्न आवश्यक श्रोतको व्यवस्था गरिने मन्त्री ढुंगेलले वताउनुभयो ।

कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

कोभिड १९ को संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, स्वास्थ्य सुरक्षा सामाग्री तथा सो कार्यमा अहोरात्र खटिने चिकित्सक, नर्स, प्रयोगशालाकर्मी लगायतका स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिलाई सेवामा उत्प्रेरित गर्न प्रोत्साहन भत्ता दिने उहाँले वताउनुभयो । रेन्टाइनको आवश्यक व्यवस्थापन लगायतका लागि रु १९ करोड ४४ लाख रुपैयाँ छुट्याइएको छ ।

नेपालको संविधानमा व्यवस्था भएको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने प्रदेश सरकारले जनाएको छ । मौलिक हकलाई मूर्तरुप दिन स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा निःशुल्क औषधीको व्यवस्था, खोप केन्द्र, सामुदायिक स्वास्थ्य इकाई र शहरी स्वास्थ्य केन्द्रको विस्तार तथा स्थानीय स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड सुधार गर्नुपर्ने आवश्यकता भएअनुसार सो को लागि २६ करोड ६८ लाख विनियोजन गरिएको मन्त्री ढुंगेलले वताउनुभयो ।

प्रदेश मातहतका अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकासका लागि ५६ करोड ३० लाख

अस्पतालजन्य फोहोरमैलाको आधुनिक र उपयुक्त प्रक्रियाबाट विसर्जन, मृत शरीर व्यवस्थापनका लागि शव गृहको व्यवस्था गरी अस्पताललाई स्वच्छ, सफा र हराभरा राख्न तथा प्रदेश मातहतका अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकासका लागि ५६ करोड ३० लाख विनियोजन गरिएको छ ।

मातृ तथा बाल मृत्युदर घटाउन प्रदेश मातहतका सबै अस्पतालमा बृहत आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा सिईओएनसि सुनिश्चित गर्ने व्यवस्था मिलाएको छ । मातृ तथा बाल स्वास्थ्य लगायत समग्र स्वास्थ्य सेवाको प्रवर्द्धनको लागि खटिएका महिला स्वास्थ्य स्वयंसेवकलाई प्रदान गरिँदै आएको संचार खर्चलाई निरन्तरता दिएको छ । समग्रमा मातृ तथा बाल स्वास्थ्य प्रबर्द्धनका लागि १८ करोड ३५ लाख बिनियोजन गरिएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमलाई परिमार्जन

नसर्ने रोगको कारणबाट सृजना हुने स्वास्थ्य जोखिमको न्यूनीकरण गर्न समयमा नै पहिचान र रोकथाम गरी आम नागरिकको जीवनरक्षा गर्न मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमलाई परिमार्जन गरी स्थानीय तहसम्म विस्तार गर्ने व्यवस्था गएिको मन्त्री ढुंगेलले वताउनुभयो । क्यान्सर रोग लागेका विपन्न नागरिकलाई उपचारमा नेपाल सरकारले दिएको सहुलियतका अतिरक्त पचास हजार थप गर्ने व्यवस्था गरिएको छ ।

नसर्ने रोग रोकथाम, नियन्त्रण र उपचारका लागि १५ करोड ८४ लाख

क्यान्सर अस्पतालसँगको सहकार्यमा महिलाको पाठेघर एवम् स्तन क्यान्सरको निशुल्क परिक्षणका साथै मृगौला रोगीको उपचारको सहज पहुँचको लागि साझेदारीमा डायलाइसिस सेवा नभएका जिल्ला अस्पतालहरूबाट क्रमशः सेवा विस्तार गर्न र हेमोफिलियाका बिरामीहरुको सहज उपचारको व्यबस्था समेत गरी नसर्ने रोग रोकथाम, नियन्त्रण र उपचारका लागि १५ करोड ८४ लाखको व्यवस्था गरिएको छ । अल्जाइमर्स रोगको रोकथाम, उपचार तथा सहयोगका लागि सरकारी अस्पतालमार्फत् शैलेजा आचार्य अल्जाइमर्स रोग विशेष कार्यक्रम सञ्चालन गरिने छ।

नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच एवम् सुनिश्चितताका लागि प्रदेश अस्पताल नभएका जिल्लाहरूका क्रमशः दोलखाको चरिकोट, काभ्रेपलाञ्चोकको मेथिनकोट, ललितपुरको बज्रबाराहीमा रहेको पाटन जिल्ला अस्पताल र चितवनको बकुलर रत्ननगर अस्पताललाई प्रदेश अस्पतालको रूपमा स्तरोन्नती गर्ने व्यवस्था मिलाएको प्रदेश सरकारले जनाएको छ ।

अस्पतालको सेवा भन्दा बाहिर रहेका २१ प्रादेशिक निर्वाचन क्षेत्र समेटिने गरी थप १७ वटा स्वास्थ्य संस्थालाई चिकित्सकीय सेवा सहितको अस्पताल संचालन सहयोगका लागि १२ करोड ८० लाख रुपैयाँ आगामी आर्थिक वर्षका लागि छुट्याइएको छ । यसबाट प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा चिकित्सकीय सेवाको पहुँच विस्तार हुनेछ।

प्रदेश मातहतका सबै जिल्ला आयुर्वेद केन्द्रबाट आयुवेर्दिक चिकित्सा सेवा, वैकल्पिक चिकित्सा सेवा, पञ्चकर्म, योग सेवा होमियोपेथी लगायत स्वास्थ्य पद्धतिको सुदृढीकरण गर्न आवश्यक बजेटको व्यवस्था गरेको उहाँले वताउनुभयो ।

एक बिद्यालय एक नर्ष कार्यक्रम एक स्थानीय तहमा दुई विद्यालयमा

सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको समग्र स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रमलाई सबै स्थानीय तहका थप दुई विद्यालयमा विस्तार गर्न १९ करोड ८० लाख विनियोजन गरिएको छ । साथै विद्यालयमा आधारित सुरिक्षत र स्वस्थ भविष्य किशोर किशोरीको लक्ष्य विशेष कार्यक्रम कार्यन्वयन गर्न ६ करोड व्यवस्था मिलाएको उहाँले वताउनुभयो ।

प्रदेश भित्रका राजमार्ग विपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्गको मुग्लिङ काठमाण्डौ खण्ड र पूर्व पश्चिम राजमार्गको हेटौँडा चितवन खण्डमा हुने दुर्घटनाका घाइतेको शीघ्र उपचार तथा अन्य आकस्मिक स्वास्थ्य उपचारका लागि नजिकको अस्पतालमा पठाउने व्यवस्था मिलाउन उक्त राजमार्ग क्षेत्रमा केन्द्रित अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको व्यवस्था तथा सो क्षेत्रमा रहेको स्वास्थ्य संस्थाहरुको सबलीकरणका लागि आवश्यक बजेट व्यवस्था गरेको मन्त्री ढुंगेलले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*