आजदेखि लकडाउन खुकुलो : यी हुन् खुल्ने र नखुल्ने क्षेत्रहरु (विवरणसहित)
काठमाण्डाै – आज सोमबारदेखि अत्यावश्यकबाहेक पनि थप केही क्षेत्रहरु खुल्ने भएका छन् ।
उद्योग, कलकारखाना, सरकारी र निजी कार्यलयहरु स्वास्थ्य सुरक्षाका उपाय अवलम्बमन गरेर खोल्न लागिएको सरकारले जनाएको छ । गएको मन्त्रिपरिषद बैठकले रोग ऐन २०२० को उपदफा २ बमोजिम खोल्ने र बन्द हुने क्षेत्र निर्धारण गरेको थियो ।
असार १ गते अर्थात सोमबारदेखि लागु हुने गरी बैठकले खुल्ने र नखुल्ने क्षेत्र निर्धारण गरेको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गर्दै आएको थियो ।
आजदेखि खुल्ने क्षेत्रहरु :
१) स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनकसमेत)
२) सबै प्रकारका कृषि पशुपंक्षी व्यवसाय (उत्पादनदेखि विक्रिवितरणका सबै शृंखला)
३) उद्योग, व्यापार, व्यवसाय, डिपार्टमेन्ट स्टोर्स ।
४) सबै प्रकारका ढुवानी ।
५) पैदल आगमन ।
६) साईकल र मोटरसाईकल (चालकमात्र रहनेगरी)
७)काठमाण्डौ उपत्याकाको हकमा काठमाण्डौ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै जोर विजार प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन (चालकबाहेक थप २ जना मात्रै सवार हुन पाउने गरी) ।
८) फोहोरमैला व्यवस्थापन ।
९) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धि सेवा ।
१०) बैंक तथा वित्तिय संस्था, सहकारी र बीमा सेवा ।
११) नर्सरी र वनजन्य उद्यम ।
१२) विकास आयोजना (निजी क्षेत्रबाट प्रवद्र्धितसमेत)
१३) निर्माण कार्य (निजी समेत)
१४) नदि तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र विक्रि वितरण ।
१५) रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा ।
१६) क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन ।
१७) सरकारी कार्यलय, शिक्षण संस्थाका कार्यलय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यलय र बैंक तथा वित्तिय संस्थाहरु (विहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म २ सिफ्टमा सञ्चालन गर्ने)
१८) सार्वजनिक तथा जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यलयका श्रमिक तथा कर्मचारी ओसार पोसार गर्न प्रयोग गरिने सवारी साधन (सीटको एक लहरमा एकजना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य मास्क प्रयोग गर्ने, स्यानिटाईजरको व्यवस्थापन गर्ने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने)
सरकारको निर्णय अनुसार यी व्यवस्थाहरु २१ दिनससम्म कार्यन्वयनमा आउनेछन् । परिस्थितिको मूल्यांकन गरी तप निर्णय गर्न सकिने पनि सरकारले जनाएको छ । खुल्ने क्षेत्रहरुमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क प्रयोग गर्ने, पटक पटक साबुनपानीले हात धुने अथवा स्यानिटाईजरको प्रयोग गर्नुपर्ने छ । जनस्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य प्रयोग गरेर सेवा सञ्चालन गर्न पनि सरकारले आग्रह गरेको छ ।
यस्तै सरकारले केही क्षेत्रहरुमा अझै संक्रमणको जोखिम रहेकाले ती क्षेत्रहरु तत्कालका लागि नखोल्ने निर्णय गरेको छ । अवस्था हेरेर लकडाउनको मोडालिटी परिवर्तन गर्दै जाने रणनीतिमा रहेको सरकारले तत्कालका लागि यी क्षेत्रहरु भने नखोल्ने भएको छ ।
१) विद्यालय, कलेज, ट्युशज सेन्टर, तालिम केन्द्र गायत शैक्षिक संस्थाहरु ।
२) अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु ।
३) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवात जावत ।
४) सबै प्रकारका सभा, गोष्टी र सेमिनार ।
५) सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
६) सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थलहरु ।
७) सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडिया घर ।
८) स्पा, सैलुन तथा ब्यूटी पार्लरहरु ।
९) स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब ।
१०) सपिङ मल ।
११) समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति ।
१२) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल ।
१३) यात्रुवाहक सार्वजनिक सवारी साधन (पर्यटक सवारी साधनसमेत)
१४) काठमाण्डौ उपत्यकाको हकमा काठमाण्डौ उपत्यकाभित्र र अन्यको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणाली सञ्चालन हुने निजी सवारी साधनबाहेक अन्य गाडीहरु नचलाउने ।
यो समाचार हामिले उज्यालो अनलाइनबाट साभार गरेका हौं ।