चितवनको कोरोना अस्पताल खाली गराइयो, संक्रमित भरतपुर अस्पतालमा

चितवन । विभिन्न विवादका कारण चर्चामा आएको भरतपुर कोरोना अस्थायी अस्पताल खाली गराइएको छ । अस्पतालमा बसेका कोरोना संक्रमितले सामान्य सुविधासमेत नपाएकाले मर्मतका लागि भन्दैं अस्पताल खाली गराइएको हो ।
अस्पतालमा संक्रमित राखिएको ठाउँमा बाथरुम फुटेर जलथल भएपछि संक्रमितले भिडियो खिचेर सार्वजनिक गरेका थिए । उनीहरुले गर्मीमा पंखाको समेत व्यवस्था नभएको भन्दै आक्रोशसमेत पोखेका थिए । उनीहरुको खिचेको भिडियो सार्वजनिक भएपछि भरतपुर अस्पताल मातहत रहेको कोरोना अस्पताल खाली गराई संक्रमितलाई भरतपुर अस्पताल सारिएको हो ।
शनिवार साँझ १८ जना संक्रमित भरतपुर अस्पताल सारिएको थियो । चार जना संक्रमितलाई शनिबार नै डिस्चार्ज गर्न खोजिएको थियो । तर, सो दिन उनीहरु घर जान मानेनन् । आइतबार उनीहरु घर गएपछि अस्पताल खाली भयो । डिस्चार्ज भएर घर जानेमा नवलपरासीका तीन र चितवनका एक जना छन् ।
अस्पतालमा संक्रमित हुँदा मर्मत संभार गर्न कठिन भएकाले मर्मतको अवधिका लागि उनीहरु सबैलाई भरतपुर अस्पतालमा सारिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । उनले भने, ‘बिरामी हुँदा मर्मत गर्न कठिन हुन्छ, मर्मतका लागि नै सबै संक्रमितलाई भरतपुर अस्पताल सारेका हौं ।’
संक्रमितहरुलाई अस्पतालको ‘ए’ ब्लकको भुइँ तलामा तयार पारिएको आइसोलेसन कक्षमा राखिएको छ । त्यहाँ ७५ बेड तयार छन् । भरतपुर अस्पतालमा हाल २५ जना संक्रमितको उपचार भइरहेको छ । अनलाइन खवरबाट साभार ।