दाङमा एकैदिन थपिए ४८ संक्रमित

जनपत्र
३२ जेष्ठ २०७७, आईतवार १८:४०

दाङ — दाङमा एकैदिन ४८ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको स्वाब परीक्षणमा आइतबार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बताए । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ४४ पुगेको उनले बताए ।

संक्रमितमध्ये ४६ जना बंगलाचुली गाउँपालिकाका हुन् । तीमध्ये ४५ जना वडा नं. ६ र १ जना वडा नं. २ का छन् । संक्रमण देखिनेहरु २ देखि १८ वर्षसम्मका १२ बालबालिका छन् । बंगलाचुली ६ का २, ४, ४, ७ र ११ वर्षीया बालिका तथा ३ देखि १८ वर्षका ७ बालकमा संक्रमण पुष्टि भएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले बताएका छन् ।

यसैगरी बंगलाचुलीका १९ देखि ५४ वर्षका २७ पुरुष र २० देखि ४२ वर्षका ७ महिलामा कोरोना पुष्टि भएको छ । बंगलाचुलीका ४६ संक्रमितमध्ये ४४ जना भारतबाट आएर भुटनेटा क्‍वारेन्टाइनमा बसेको देवले जानकारी दिए । शनिबार सोही क्‍वारेन्टाइनमा रहेका माण्डवी ४ प्युठानका १८ वर्षीय एक युवकको मृत्यु भएको थियो । उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो । बंगलाचुली ६ का १९ बर्षीय युवक भारतबाट आएर लोकभक्त प्रावि सिमलचौर प्युठानको क्वारेन्टाइनमा रहेको बेला र बंगलाचुली २ का ३५ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचारका क्रममा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको देवले बताए । बंगलाचुलीको क्वारेन्टाइनमा अहिले ६ सय ४१ जना रहेका गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले बताए ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका १७ का २७ वर्षीय पुरुष र बबई गाउँपालिका २ का २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुरका संक्रमित भारतबाट आएर बालापुर क्वारेन्टाइनमा र बबईका संक्रमित पदमपुर मावि हापुरेको क्‍वारेन्टाइनमा रहेका थिए ।

प्रतिष्ठानमा आइतबार २ सय ८२ नमुना परीक्षण भएको थियो । जसमध्ये प्युठानका ८ जनामा पनि संक्रमण पुष्टि भएको छ । लोकभक्त प्रावि सिमलचौर प्युठानको क्‍वारेन्टाइनमा रहेका माण्डवी गाउँपालिका ४ का १८ देखि ३० वर्षका ६ पुरुष र अमर क्याम्पस स्वर्गद्वारी प्युठानको क्वारेन्टाइनमा रहेका २६ र २७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । प्युठानका संक्रमितहरु पनि भारतबाट आएर क्‍वारेन्टाइनमा बसेको प्रतिष्ठानका कामु रजिष्ट्रार देवले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*