संविधानमा असन्तुष्टि छ तर नयाँ नक्सा राख्ने कुरामा दिलदेखि समर्थन गर्छाैँ : राजेन्द्र महतो

काठमाण्डाै – जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले आजको दिन नेपालको लागि ऐतिहासिक दिन रहेको बताउनुभएको छ । नेपालको भूमि नेपालीले आफ्नो नाममा लेखाउने दिन भएकाेले यो दिन विशेष रहेको नेता महतोको भनाइ छ ।
‘ए, मधेसीले पनि राष्ट्रियता देखाउँछ ? यिनीहरु पनि राष्ट्रियता मान्छन् भनेर हेपिएको छ तर एकलौटी राष्ट्रवाद हाबी हुनुहुँदैन’, महतोले भन्नुभयो । नेपालको भूमि समेटेर नयाँ नक्सा संविधानमै राख्नको लागि प्रस्ताव आएको र आफ्नो दलले सहमति दिइसकेको उहाँले बताउनुभयो ।
संविधानका धेरै कुरामा आफूहरुको गम्भीर असहमति रहेको तर राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको मामिलामा आफूहरु दायाँबायाँ नहुने महतोको भनाइ छ । नेता महतोले नक्सामात्रै बनाउनेभन्दा पनि भूमि फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभयो ।
उहाँले संविधान संशोधन प्याकेजमै ल्याउन चाहेको तर प्रधानमन्त्रीले मधेशी जनजातिका कुरा सुन्दै नसुनेको बताउनुभयो । उहाँले संविधानमा कैयौँ असन्तुष्टि हुँदा हुँदै पनि राष्ट्रियता र भूमिको सवाल उठेकाेले सबै असन्तुष्टिलाई थाती राखेर जसपाले सर्वसम्मतीले समर्थन गरेको बताउनुभयो ।
नेता महताेले महाकाली सन्धि गर्नु गम्भीर गल्ती भएको बताउनुभयो । महाकाली सन्धिले नै महाकाली नदीको स्रोत छुट्याएको भन्दै नेता महतोले महाकाली सम्झौता राष्ट्रघाती सम्झौता भएको बताउनुभयो । सन्धी गर्नेहरुलाई कारबाही गर्न नेता महतोले माग गर्नुभयो । मधेशी समुदायलाई राष्ट्रघाती भनेर जहिल्यै हेप्ने गरेकोमा उहाँले गुनासो गर्नुभयो ।